Kathmandu Press

जग्गा उपलब्ध नहुँदा डम्पिङसाइट निर्माणमा ढिलाइ

लामो समयदेखि नगरपालिकाले फोहरमैला प्रशोधन केन्द्रका लागि उपयुक्त जग्गा भेट्टाउन नसक्दा प्रशोधन केन्द्र निर्माण अन्योलमा रहेको भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले बताए। 
जग्गा उपलब्ध नहुँदा डम्पिङसाइट निर्माणमा ढिलाइ

काठमाडाैं, जेठ ३१ : महेन्द्रनगरस्थित भीमदत्त नगरपालिकाले फोहरमैला प्रशोधन केन्द्र (डम्पिङसाइट) निर्माणका लागि जग्गा उपलब्ध नहुँदा समस्या भएको बताएकाे छ।

लामो समयदेखि नगरपालिकाले फोहरमैला प्रशोधन केन्द्रका लागि उपयुक्त जग्गा भेट्टाउन नसक्दा प्रशोधन केन्द्र निर्माण अन्योलमा रहेको भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले बताए। 

Hardik ivf

'नगरपालिकाले विभिन्न ठाउँमा जग्गा हेरे पनि टुंगाे लाग्न सकेको छैन', प्रवक्ता खड्काले भने, 'यहाँका जनताको बुझाइमा फोहाेर ल्याएर हाम्रो ठाउँमा फाल्ने हुन् भन्ने परेकाले झन् समस्या भएको छ।' उनले जग्गा उपलब्ध हुने ठाउँमा पनि नागरिकको गतल बुझाइका कारण प्रशोधन केन्द्र बन्न नसकेको बताए।

'अहिलेको आधुनिक किसिमले निमार्ण हुन्छ बस्तीमा केही असर गर्दैन,' उनले भने, 'नगरपालिकाले जग्गा खरिदका लागि सार्वजनिक सूचना निकाले पनि जग्गाको टुंगाे लागेन,' एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा भीमदत्त नगरपालिकामा आधुनिक सडक निर्माणसँगै फोहर व्यवस्थापनका लागि फोहरमैला प्रशोधन केन्द्र स्थापना गर्ने योजना भए पनि समयमा जग्गा उपलब्ध नहुँदा एडिबीको बजेट फिर्ता भएको हो।

एडिबीको बजेट फिर्ता भए पनि नगरपालिका आफैँले प्रशोधन केन्द्र निर्माण गर्ने जनाएको छ। तर त्यसका लागि आवश्यक जग्गा उपलब्ध नहुँदा समस्या भएको नगरपालिकाले जनाएको छ। यसअघि नगरपालिकाले भीमदत्त नगरपालिकाको चुरेक्षेत्रमा प्रशोधन केन्द्र बनाउने भने पनि स्थानीयको विरोधका कारण त्यहाँ प्रशोधन केन्द्र बन्न नसकेको हो।

नगरपालिकाले जग्गा खोज्नका लागि यसअघि वडाध्यक्षको नेतृत्वमा समिति बनाएर समितिले प्रतिवेदन बुझाइसकेको छ। महेन्द्रनगर बजारबाट मात्रै दैनिक छदेखि सात टनसम्म फोहर उठ्ने गरेको नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति: १२:५७ बजे, बुधबार, जेठ ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्