Kathmandu Press

गुणस्तर वृद्धि गर्दै महाकाली प्रादेशिक अस्पताल

स्वास्थ्य सेवा विभागले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार अस्पतालमा सेवा सञ्चालन भएनभएको हरेक ६/६ महिनामा अनुमगन गर्ने गरेको छ। विभागका अनुसार सन् २०१९ मा महाकाली अस्पतालको गुणस्तर ३५ प्रतिशत मात्रै थियो।
गुणस्तर वृद्धि गर्दै महाकाली प्रादेशिक अस्पताल

महेन्द्रनगर, जेठ ३१ : महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले स्वास्थ्य सेवामा गुणस्तर वृद्धि गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशद्वारा गरिएको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमअन्तर्गत महाकाली प्रादेशिक अस्पतालमा गरिएको अनुगमन मूल्याङ्कनमा विगतको तुलनामा अस्पतालले स्वास्थ्य सेवामा उलेख्य सुधार गरेको पाइएको हो। 

स्वास्थ्य सेवा विभागले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार अस्पतालमा सेवा सञ्चालन भएनभएको हरेक ६/६ महिनामा अनुमगन गर्ने गरेको छ। विभागका अनुसार सन् २०१९ मा महाकाली अस्पतालको गुणस्तर ३५ प्रतिशत मात्रै थियो।

Hardik ivf

हाल अस्पतालले गुणस्तर वृद्धि गर्दै ८५ प्रतिशत पुर्याएको छ। त्यसैगरी २०२० मा अस्पातलले सेवा सुधार गर्दै ६३ प्रतिशत पुर्याएको थियो। सन् २०२१ मा ६८ प्रतिशत, २०२२ मा ७८ प्रतिशत सेवा सुधार भएको हो। 

स्वास्थ्य सेवा विभागले अनुगमन गर्दा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सञ्चालन भएनभएको हेर्ने गरेको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णनन्द भट्टले जानकारी दिए। उनले विगतका तुलनामा अस्पतालले गुणस्तर वृद्धि गर्दै गएको बताए।

'हामीले अस्पतालले दिने स्वास्थ्य सेवा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार नै दिने गरेका छाँै', उनले भने, 'अहिले अस्पतालमा विशेषज्ञ चिकित्सक र अन्य सेवा सुविधासमेत थप गरिरहेका छौँ, जसले गर्दा बिरामीको चाप बढेको छ।' 

उनले शतप्रतिशत पुर्याउने लक्ष्यअनुसार अस्पतालले स्वास्थ्य सेवा विस्तार गरिरहेको बताउनुभयो। 'हामीले सुविधासम्पन्न इमर्जेन्सी भवन सञ्चालनमा ल्याएका छौँ', अध्यक्ष भट्टले भने, 'सेवा सुविधा पनि थप हुने प्रक्रियामा छन् हाम्रो लक्ष्य सय प्रतिशत गुणस्तरीय स्वास्थ्य सेवा दिने हो।'

उनले समिति जनशक्तिका बीच पनि सेवा प्रवाह चुस्त रहेको बताउनुभयो। अस्पतालमा हाल १४ विशेषज्ञ चिकित्सक, १२ मेडिकल अफिसर, छ जना डेन्टलले सेवा दिँदै आएका छन्। 'अस्पतालमा अझै नर्सिङ स्टाफको अभाव छ, भौतिक संरचना निर्माण हुँदैछनु', उनले भने, 'आवश्यक जनशक्ति व्यवस्थापन र भौतिक संरचनाका लागि पहल गरिरहेका छाैं।'

यहाँका स्थानीयले पनि पछिल्लो समय अस्पतालको सेवा सुधार भएको बताएका छन्। महाकाली अस्पतालमा उपचारको क्रममा भेटिएका पुष्पा पन्तले अस्पतालमा सहजरूपमा सेवा पाइरहेको बताए। 'विगतको तुलनामा अहिले धेरै सुधार भएको छ तर बालरोग विशेषज्ञ ल्याउनु जरुरी छ', उनले भने, 'अहिले यही अस्पतालमा शल्यक्रिया हुने गरेको देखेपछि खुसी लागेको छ।' त्यसैगरी यहाँका नागरिक अगुवाले पनि अस्पतालमा राजनीति गर्न नहुने भन्दै अस्पतालको सेवा विस्तारमा लाग्नुपर्ने बताउँछन। 

यहाँका स्थानीय रमेश पन्तले पछिल्लो सयम अस्पतालले स्वास्थ्य सेवा थप गरेको बताउँदै यहाँका स्थानीयले घरआँगनै उपचार पाउने गरेको बताए। 'एक विशेषज्ञ चिकित्सक बस्ने अस्पतालमा अहिले १४ जना विशेषज्ञ चिकित्सक छन् त्यस्तै अन्य सुविधा पनि थप भएका छन्।' उनले भने, 'अस्पतालमा राजनीतिक आग्रह–पूर्वाग्रहले गर्दा बेला–बेला विवादमा आउने गरेको छ अस्पतालमा राजनीति गर्नु हुँदैन।'

महाकाली प्रादेशिक अस्पतालले स्वास्थ्य सेवा सुधार गरेपछि सामान्य उपचारका लागि पनि यहाँका स्थानीयले अन्यत्र जानुपर्ने बाध्यता हटेको छ। 

प्रकाशित मिति: १२:१८ बजे, बुधबार, जेठ ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्