Kathmandu Press

मुर्रा राँगो : भैंसीको नश्ल सुधारका लागि विशेष योगदान

दूध उत्पादन वृद्धिमा नश्ल सुधारको विशिष्ट महत्व हुने अवस्थालाई दृष्टिगत गर्दै नेपालमा २०६९ सालबाट पशुको कृतिम गर्भाधानको राष्ट्रिय अभियान थालिएको थियो।
मुर्रा राँगो : भैंसीको नश्ल सुधारका लागि विशेष योगदान

गण्डकी, जेठ २४ : भारत सरकारको सहयोगमा नेपालमा ल्याउन लागिएका उन्नत जातका मुर्रा राँगो भैंसीको नश्ल सुधारका लागि महत्वपूर्ण उपलब्धि हुने विश्वास लिइएको छ। 

दूध उत्पादन वृद्धिमा नश्ल सुधारको विशिष्ट महत्व हुने अवस्थालाई दृष्टिगत गर्दै नेपालमा २०६९ सालबाट पशुको कृतिम गर्भाधानको राष्ट्रिय अभियान थालिएको थियो। त्यसयता पोखरा, लहान र नेपालगञ्जमा पशु प्रजनन कार्यालयमार्फत पशुको नश्ल सुधारका लागि वीर्य सङ्कलन गरी देशका विभिन्न जिल्लामा पठाउने गरिएको छ। 

कार्यालयमार्फत गाईभैँसी र बाख्राको शुद्ध नश्ल सुधारका लागि वीर्य सङ्कलन गर्दै आइएको राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख डा. जगदीश पाण्डेयले जानकारी दिए। उनका अनुसार अघिल्लो वर्ष पोखरा कार्यालयबाट मात्रै करिब ६ लाख डोज वीर्य संकलन गरेर विभिन्न जिल्लामा पठाइएको थियो। त्यस वर्ष लहान कार्यालयबाट ३ लाख डोज र नेपालगञ्ज कार्यालयबाट ५० हजार डोज वीर्य वितरण गरिएको थियो।

Hardik ivf

पोखरा कार्यालयले वीर्य सङ्कलन एवं वितरणबाट वार्षिक तीन करोड ९६ लाख राजस्व सङ्कलन गरेको उनले बताए। कार्यालयले अघिल्लो वर्षको तुलनामा यसवर्ष ३३ प्रतिशत डोज वीर्य थप्ने उद्देश्य राखेको छ। अघिल्लो वर्ष गाईभैँसी र बाख्रा गरी पाँच लाख ७१ हजार डोज वीर्य संकलन गरिएको थियो। जसबाट रु. ५ करोडको हाराहारीमा राजस्व संकलन हुने अनुमान गरिएको छ। चालु आवको चैतसम्म रु. ३ करोड संकलन भइसकेको जनाइएको छ। 

पछिल्ला समयमा नश्ल सुधारसँगै किसान पाडापाडी, बाच्छाबाच्छी हुर्काउनेतर्फ लागेको डा. पाण्डेय बताउँछन्। नश्ल सुधारले हिजोप्रति बेत ७००/८०० लिटर दूध दिने भैँसीले अहिले २७/२८ सय लिटरसम्म दूध दिन थालेको उनले बताए। भैँसीमा वंश सुधार कार्यक्रमले प्रतिवेत ३८/३९ सय लिटरसम्म दूध दिन थालेको जानकारी दिँदै उनले भारतबाट ल्याउने भनिएका मुर्रा प्रतिवेत चार हजारदेखि चार हजार दुई सय लिटरसम्म दूध दिने उनले बताए। भैँसीले प्रतिवेत औसतमा ३०५ दिन दूध दिने अनुमान गरिन्छ।

'वर्षौँदेखिको नश्ल सुधारको प्रयासका लागि मुर्रा जातका राँगा आउन लागेको हो,' उनले भने, 'जेनेटिक मेटेरियल आउनु सामान्य कुरा होइन, यो आफैँंमा अमूल्य छ।' मुर्रा आउने भएसँगै पोखरा कार्यालयले तिनीहरूको व्यवस्थापन गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाएको छ। नश्ल सुधार प्रयोजनका लागि ल्याइने पशुलाई ल्याइसकेपछि २१ दिन क्वारेन्टिनमा राख्ने प्रचलन छ। आउन लागेका मुर्रा राँगाका लागि क्वारेन्टिइन सेलहरू तयार गरिसकेको र गोठ तयारी अवस्थामा रहेको उनले बताए।

अन्य देशबाट ल्याउदा आवश्यक प्रक्रिया अपनाउनुपर्ने बताउँदै उनले सुरुमा प्राविधिक टोली पुगेर ल्याउन लागिएका मुर्राबारे आवश्यक जाँचबुझ गर्ने जानकारी दिए। प्राविधिक टोलीले ल्याउन लागिएका राँगामा कुनै रोग छ वा छैन, अण्डकोषको अवस्था कस्तो छ, कसरी हिँड्छ आदिबारे पूर्ण रुपमा जानकारी लिने र रोग नभएका अवस्थामा सम्बन्धित देशको आधिकारिक पशु चिकित्सकबाट प्रमाणित गरेर मात्रै ल्याउने प्रचलन छ। डेढ महिनाभित्र आउने भनिए पनि यकिन मिति भने तय नभएको उनले जानकारी दिए। 

उनका अनुसार पोखरामा हाल रहेका १२ वटा राँगोमध्ये आठ वटाबाट वीर्य संकलन भइरहेको छ। पोखरास्थित पशुप्रजनन कार्यालयमा ५८ वटा साँढे र राँगा छन्। जसमध्ये ३१ वटाबाट वीर्य संकलन भइरहेको र २७ वटा हुर्कदो अवस्थाका छन्। नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआइपी) को सहयोगमा अमेरिकाबाट ल्याइएका ६ वटा साँढेमध्ये पोखरामा चारवटा रहेको र तिनीहरूबाट हप्ताको दुई दिन वीर्य सङ्कलन गर्दै आएको छ।

किसानलाई पशुको शुद्ध नश्लका बारेमा जानकारी गराउँदै तिनीहरूको संरक्षण र प्रवर्द्धन गरी पशुजन्य वस्तुमा राज्यलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले काम गरिरहेको कृषि-अर्थ विज्ञ सुशील खड्काले जानकारी दिए। तत्कालीन समयमा पहिलो पटक नेपालमा राणा प्रधानमन्त्री जङ्गबहादुरका पालामा नश्ल सुधारको उद्देश्यका साथ जर्सी बहर ल्याइएको इतिहास छ।

त्यसयता औपचारिक रुपमा एनएलएस आइपी आयोजनामार्फत अमेरिकाबाट साँढे ल्याइएको थियो । नेपालमा भारत सरकारको सहयोगमा ल्याउन लागिएका मुर्रा राँगा उत्पादकत्व वृद्धिका लागि महत्वपूर्ण हुने खड्काले बताए। 

'नेपालमा हाल थोरै मात्रामा दूध दिने भैँसी छन्,' उनले भने, 'भारतबाट ल्याउन लागिएका मुर्रा राँगोको वीर्यबाट जन्मने पाडीहरूको दूध दिने क्षमता बढी हुन्छ।' 
९९९

प्रकाशित मिति: १६:०९ बजे, बुधबार, जेठ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्