पूर्वराज्यमन्त्री चौधरी रहेनन्

काठमाडौं, जेठ २४ : पूर्वराज्यमन्त्री महेश चौधरीको निधन भएको छ। दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बुधबार दिउँसो निधन भएको हो।
काठमाडौंमा केही समयअघि हर्नियाको शल्यक्रिया गरेर गृह जिल्ला दाङ फर्किएका चौधरीको स्वास्थ्यमा पुनः समस्या देखिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। उपचारकै क्रममा चौधरीको निधन भएको जनाइएको छ। चौधरी २०४८ सालमा राष्ट्रिय सभा सदस्य बनेका थिए। त्यसपछि २०५४ सालमा स्थानीय विकास राज्यमन्त्री बनेका थिए ।
एमाले नेता चौधरीका ‘द हिडन ट्रेजर अफ द लो ल्यान्ड नेपाल (भाग–१ र २)’, ‘नेपालको तराई तथा यसका भूमिपुत्रहरू’, ‘स्थवीरहरुको प्राचीन इतिहास र संस्कृति’, ‘थारू भाषाको पहिलो गीति नाटक ‘छारा’, थारू भाषामा लिरौसी व्याकरण लगायत पुस्तक कृति प्रकाशित छन्।
चौधरीले घोराहीमा सूर्यशक्ति सुपर जैविक प्राङ्गारिक मल उत्पादन केन्द्र सञ्चालन गर्दै आएका थिए।












