कोरोना भाइरसले अन्योलमा नेपाल एयरलाइन्सको चीन उडान
काठमाडौं, माघ २२ : लामो प्रयासपछि अनुमति पाएको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को चीन उडान अन्यौलमा परेको छ। चीनमा फैलिएको कोरोना भाइरसका कारण ने....

काठमाडौं, माघ २२ : लामो प्रयासपछि अनुमति पाएको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को चीन उडान अन्यौलमा परेको छ। चीनमा फैलिएको कोरोना भाइरसका कारण नेपाल एयरलाइन्सलाई सुरुआत नहुँदै धक्का लागेको हो।
नेपालले एयरलाइन्सले चीन उडानका लागि सन् २०१४ देखि प्रयास गरिरहेको थियो। तर, चीनले विभिन्न बहाना बनाएर अनुमति दिएको थिएन्। अहिले अनुमति दिँदा कोरोना भाइरसका कारण उडान अन्यौलमा परेको हो।
नेपाल एयरलाइन्सले आगामी चैत २ गते (मार्च ५) देखि चीनको ग्वाङजाउ उडानको तयारी गरेको छ। त्यसका लागि माघ ७ गतेदेखि टिकट बुकिङ खुल्ला गरेको थियोे। तर, कोरोना भाइरसका कारण तत्कालका लागि टिकट बुकिङ बन्द गरेको निगम प्रवक्ता अर्चना खड्काले बताइन्।
उनका अनुसार बुकिङ बन्द भएपनि स्थगन गर्ने वा तोकिएकै समयमा उडान गर्ने भन्ने विषय अन्योल नै छ। ‘अहिलेको अवस्था हेर्दा रोकिने सम्भावना रहेको छ, तर निगम सञ्चालक समितिले उडान स्थगन गर्ने वा सञ्चालन गर्ने विषयमा निर्णय गरेको छैन,’ प्रवक्ता खड्काले भनिन्।
नेपाल एयरलाइन्सको सातामा तीन दिन आइतबार, मंगलबार र बिहीबार उडान गर्ने तयारी रहेको थियो।
नेपाल एयरलाइन्स्ले सन् २०१४ देखि चीनका विभिन्न शहरमा उडानका लागि अनुमति माग्दै आएको थियो। केही समय अघि मात्रै चीनको ग्वङझाउ उडान अनुमति पाएको हो।
सन् १९९४ देखि २००७ सम्म निगमले चीनको साङघाई ट्रान्जिट गरी जापान उडान गरेको थियो। तत्कालीन समयमा लामो दुरीको अन्तर्राष्ट्रिय उडानका लागि विमान अभाव भएको भन्दै चीन र जापान उडान बन्द गरिएको थियो। उडान बन्द भएको करिव १२ वर्षपछि भदौ १२ गतेदेखि जापानको ओसाका उडान संचालन भएपनि चीन उडान भने अन्यौलनमै छ।
नेपाललाई चीन सरकारले लामो समयदेखि उडानको अनुमति नदिएपछि गत साउन १० गते दुई पक्षीय हवाई सम्झौता पुनरावलोकन गरिएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र चिनियाँ अधिकारीबीच हवाई रुट सम्झौता पुनरावलोकन भएको करिब पाँच महिनापछि मात्रै नेपाल एयरलाइन्सले चीन उडान अनुमति पाएको हो।
नेपाल र चिनियाँ अधिकारीबीच भएको दुई पक्षीय वार्तामा नेपाल र चीनबीच हप्तामा ९८ वटासम्म एक–अर्को देशमा हवाई उडान गर्न पाउने र आठ वटा हवाई रुट प्रयोग गर्न सकिने सम्झौता भएको थियो। नेपालले चीनका १५ वटा विमानस्थलमा र चीनले निर्माणाधीन पोखरा र गौतमबुद्ध विमानस्थलमा हप्तामा २१ वटासम्म उडान गर्न पाउने गरि सम्झौता गरिएको थियो।
बेइजिङ, सांघाई, सियान, ग्वाङझाओ, ल्हासा, चेङ्दु, छोङछिङ, कुन्मिङलगायत विभिन्न १५ गन्तव्यमा नेपाललाई उडान अनुमति दिन चीन सहमत भएको छ। अहिले हिमालय एयरलाइन्सले चीनका पाँच वटा शहरहरु स्यानजेङ, चाङसा, गुओइङ, बेइजिङ र छोङछिङ विमानस्थलमा उडान गर्दै आएको छ। भाइरसका कारण फेबुअरी १ देखि तीन शहर र बुधबारदेखि बेइजिङ उडान बन्द गरेको छ।
त्यस्तै चीनबाट नेपाल उडान गर्दै आएका चिनियाँ विमान कम्पनीहरुले समेत उडान बन्द गर्ने भएका छन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका महानिर्देशक देवेन्द्र केसीका अनुसार काठमाडौंबाट दैनिक उडान गर्दै आएका चार चिनियाँ वायुसेवा कम्पनीले उडान स्थगित गर्ने सूचना दिएका छन्।
उनका अनुसार दैनिक दुई उडान गर्दै आएको चाइना साउदर्नले सोमबारदेखि एक उडान मात्र गर्ने भएको छ। त्यस्तै दैनिक एक उडान गर्दै आएको एयर चाइनाले फेब्रुअरी ४ देखि २९ सम्म, चाइना स्टर्न एयरलाइन्सले ६ फेब्रुअरीदेखि २८ सम्म उडान बन्द गर्ने सूचना पठाइसकेका छन् भने सिचुवान र तिब्बत एयरलाइन्सले आफ्ना जिएसएहरुलाई टिकट बुकिङ नलिन जानकारी दिइसकेका छन्।












