ग्रान्डी अस्पतालद्वारा सात हजार बिरामीलाई आइसियु सेवा
आइसियु सेवा प्रदान गरेको १० वर्ष पूरा भएको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा अस्पतालका आइसियु शाखा प्रमुख डा. सुवास आचार्यले आइसियु सेवा प्रदान गरिएका मध्ये ६ हजार १ सय १४ बिरामीलाई बचाउन सफल भएको जानकारी दिए।
काठमाडाैं, जेठ २० : ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासीले सात हजार एक सय ५६ बिरामीलाई आइसियु (सघन उपचार कक्ष) मार्फत स्वास्थ्य सेवा प्रदान गरेको छ। ग्रान्डीले सन् २०१३ जुनदेखि बिरामीलाई आइसियु सेवा प्रदान गर्न लागेको हो।
आइसियु सेवा प्रदान गरेको १० वर्ष पूरा भएको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा अस्पतालका आइसियु शाखा प्रमुख डा. सुवास आचार्यले आइसियु सेवा प्रदान गरिएका मध्ये ६ हजार १ सय १४ बिरामीलाई बचाउन सफल भएको जानकारी दिए। आइसियुमा भर्ना हुने बिरामीमा ५७ प्रतिशत पुरुष र ४३ प्रतिशत महिला थिए।
कोरोना महामारीका समयमा ग्रान्डीले ७ सय ४३ बिरामीलाई आइसियुमार्फत सेवा प्रदान गरेको थियो। 'झण्डै ८० प्रतिशत बिरामीलाई बचाउन सफल भयौँ,' उनले भने। ग्रान्डीले गत वर्षदेखि चिकित्सा शिक्षा आयोगबाट आइसियु फेलोसिपसमेत प्रदान गर्दै आएको छ।
कार्यक्रममा अस्पतालका अध्यक्ष इञ्जिनियर दीपक कुँवरले नेपालमै अन्तर्राष्ट्रिय स्तरको विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ग्रान्डी अस्पताल स्थापना गरिएको बताए। सबैको साथ, सहयोग र समर्थनका कारण ग्रान्डीले नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा ठूलो फड्को मार्न सफल भएको उनको भनाइ थियो।
निजी क्षेत्रको लगानीमा २०६९ पुस १९ गते स्थापना भएको ग्रान्डीले ३० भन्दा बढी विधामा बिरामीको उपचार गर्दै आएको अस्पतालले जनाएको छ। ग्रान्डीले हाल ३० शय्यामार्फत बिरामीलाई आइसियु सेवा प्रदान गर्दै आएको छ।