गर्मी बढेसँगै चितवनका ६ पालिकाका विद्यालय बन्द
चितवनका भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, कालिका नगरपालिका र माडी नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।
चितवन, जेठ १९ : अत्यधिक गर्मी भएपछि चितवनका ६ पालिकाले विद्यालय बन्द गरेका छन्। गर्मी बढेसँगै पालिकाले विद्यालयमा बिदा दिन थालेका हुन्।
भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, कालिका नगरपालिका र माडी नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।
चितवनमा आजको अधिकतम तापक्रम ३९ डिग्री मापन गरिएको छ । सबै पालिकाले स्थानीय बिदा र वर्षे बिदाबाट कटौती हुने गरी पाँच दिन विद्यालय बन्द गरेका छन्। चार वटा पालिकाले आजदेखि जेठ २४ गतेसम्म विद्यालय बन्द गरेका हुन्।
जेठ १९ गते स्थानीय बिदा र २१ गतेदेखि २४ गतेसम्म वर्षे बिदामा कट्टी हुनेगरी विद्यालय बन्द गरिएको पालिकाद्वारा जारी सूचनामा उल्लेख छ।
रत्ननगर, खैरहनी, राप्ती र माडीले यसरी बिदा गरेका हुन् । भरतपुर महानगरपालिका र कालिका नगरपालिकाले जेठ २१ गतेदेखि २६ गतेसम्म विद्यालय बन्द गरेका हुन् । वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गरिएको ती पालिकाका शिक्षा शाखाद्वारा जारी सूचनामा उल्लेख छ।
खैरहनी नगरपालिकाले नियमित सञ्चालन भइरहेका परीक्षालाई भने यथावत सञ्चालन गर्ने निर्णय गरेको नगर शिक्षा अधिकारी राजु बानियाँले जानकारी दिए। गर्मीका कारण विद्यार्थीलाई विद्यालय आउन जान असहजता सिर्जना भएकाले विद्यालय बन्द गरिएको पालिकाले जनाएको छ।











![सुकुम्बासीमाथिको दमन र महँगीविरुद्ध माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1778667168.jpg)