‘टेलिस्कोप’ बनाउन तालिम
इन्टरनेसनल एष्ट्रोनोमिकल युनियनअन्तर्गत अफिस अफ एष्ट्रोनोमी फर नेपाल, इन्टर–युनिभर्सिटी सेन्टर फर एष्ट्रोनोमी एन्ड एष्ट्रोफिजिक्स, भारत तथा पञ्चकन्या माध्यमिक विद्यालयको समन्वयमा कार्यशाला सम्पन्न भएको हो।
काठमाडाैं, जेठ १८ : स्थानीय स्रोतसाधनको प्रयोग गर्दै ‘टेलिस्कोप’ बनाउने तीन दिने कार्यशाला छाउनीस्थित श्री पञ्चकन्या माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।
इन्टरनेसनल एष्ट्रोनोमिकल युनियनअन्तर्गत अफिस अफ एष्ट्रोनोमी फर नेपाल, इन्टर–युनिभर्सिटी सेन्टर फर एष्ट्रोनोमी एन्ड एष्ट्रोफिजिक्स, भारत तथा पञ्चकन्या माध्यमिक विद्यालयको समन्वयमा कार्यशाला सम्पन्न भएको हो।
इन्टरनेसनल एष्ट्रोनोमिकल युनियनका नेपाल र भारतका राष्ट्रिय जनसम्पर्कीय संयोजकको सक्रियता एवं नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) को आयोजनामा स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनको प्रयोग गरेर सो अवसरमा टेलिस्कोप बनाइएको हो।
कार्यशालाका सहभागीले बनाएको पाँच इन्चको रिफ्लेक्टर टेलिस्कोप नेपालमा पहिलो पटक बनेको आयोजक नासोका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। उपत्यकाभित्र एवं बाहिरका सात विद्यालयका विज्ञान शिक्षक एवं विद्यार्थी गरी जम्मा २१ सहभागी कार्यशालामा इन्टर–युनिभर्सिटी सेन्टर फर एष्ट्रोनोमी एण्ड एष्ट्रोफिजिक्स, भारतका कार्यक्रम अधिकृत समिर धुर्देले प्रशिक्षण दिएका थिए।
कार्यशालामा सहभागीले परावर्ती टेलिस्कोप (रिफ्लेक्टिङ टेलिस्कोप) र आवर्ती टेलिस्कोप (रिफ्राक्टिङ टेलिस्कोप) बनाउन प्रशिक्षण लिएका थिए। कार्यशालामा शिक्षकले टेलिस्कोपका बारेमा सैद्धान्तिक अवधारणालाई अभ्यासमा उतार्दै वास्तविक टेलिस्कोप बनाउन सिकेका छन्।
सहभागीले पिभिसी पाइप, किल्ला, प्लाई तथा अन्य स्थानीय सामग्रीका साथै भारतबाट ल्याइएको लेन्स तथा ऐना प्रयोग गरी पाँच आवर्ती टेलिस्कोप र तीन रावर्ती टेलिस्कोप बनाएका छन्।
'यस प्रकारको कार्यशाला शिक्षकका लागि उति नै अपरिहार्य छ, जति विद्यार्थीका लागि आवश्यक छ, कक्षामा सिकाउने शिक्षकलाई पनि प्रयोगात्मक ज्ञानको कमी छ, तीन दिनभित्र उहाँहरुले निकै मेहनत र परिश्रम गरेर टेलिस्कोप बनाउन सिक्नुभएको छ', इन्टरनेसनल एष्ट्रोनोमिकल युनियनको नेपालका लागि अर्का जनसम्पर्क संयोजक तथा नासोका परियोजना संयोजक मनिषा द्वाले भने।
कार्यशालामा कक्षा–४ देखि कक्षा–१२ सम्म पढाउने शिक्षकको सहभागिता थियो। पाठ्यक्रममा भएको सैद्धान्तिक कुरालाई अभ्यास गरी नेपालकै लागि पहिलो रिफ्लेक्टिङ टेलिस्कोप बनाउन पाउँदा निकै हर्षित भएका छन्। यस प्रकारका कार्यशाला हरेक विद्यालयमा हुनुपर्ने र त्यसका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने सेलिब्रेसन कोएड विद्यालयका विज्ञान शिक्षक मनिराम राईले बताए।