राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पटवालले दिए राजीनामा
काठमाडौं, माघ २० : नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक उमेश पटवालले पदबाट राजीनामा दिएका छन्।
विश्वकप क्रिकेट लिग–२ अन्त....

काठमाडौं, माघ २० : नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक उमेश पटवालले पदबाट राजीनामा दिएका छन्।
विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको आमोन र अमेरिकाविरुद्धको त्रिकोणात्मक सिरिज सकिएसँगै लागू हुने गरी पटवालले राजीनामा दिएका हुन्। त्रिकोणात्मक सिरिज माघ २२ देखि २९ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान हुँदैछ।
पछिल्लो समय नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीसँग असन्तुष्ट रहेका पटवालले त्रिकोणात्मक सिरिज सकिएपछि लागू हुने गरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)लाई राजीनामा बुझाएको क्यान स्रोतले जानकारी दिएको छ।
पटवालले आईसिसीलाई बुझाएको राजीनामाको बोधार्थ क्यानलाई समेत बुझाएको बताइएको छ। क्यान निलम्बनमा रहेको अवस्थामा राष्ट्रिय खेलकुद परिषद्को पहलमा आईसिसीले सन् २०१९ जुनमा एक वर्षका लागि नेपाली राष्ट्रिय टिमको प्रशिक्षकका नियुक्त गरेको थियो।
नेपाली टिमको कन्सल्ट्यान्ट ब्याटिङक प्रशिक्षक रहेका पटवाललाई मासिक सात हजार डलर पाउने गरी मुख्य प्रशिक्षक बनाइएको थियो। तलबमा कर लगाइएपछि पटवाल पछिल्लो सयम असन्तुष्ट रहेका थिए। तलबमा कर कट्टा गरिएपछि पटवालले तलब बुझ्न अस्वीकार गरेको क्यान स्रोतले जानकारी दिएको छ।
पटवालले गत वर्ष जिम्बाबेमा भएको एकदिवसीय विश्वकप छनोटमा पहिलोपल्ट नेपाली टिमको ब्याटिङ कन्सल्ट्यान्टको जिम्मेवारी सम्हालेका थिए। गत माघमा युएईविरुद्धको एकदिवसीय र ट्वान्टी–२० शृंखला नेपालले जित्दा पनि पटवाल नै ब्याटिङ कन्सल्ट्यान्टमा थिए।











