‘गणतन्त्रलाई संस्थागत गर्न सबै एकजुट हुनुपर्छ’
गणतन्त्र दिवसका अवसरमा फाउन्डेसनले आज जारी गरेको विज्ञप्तिमा सबै शक्ति सशक्त र संवेदनशील भएर गणतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड दिएको हो।
काठमाडाैं, जेठ १५ : गणतन्त्रका उपलब्धिलाई संस्थागत गर्दै मुलुकलाई समुन्नतिको मार्गमा डोर्याउन देशका सबै शक्ति एकजुट हुनुपर्नेमा सुशील कोइराला मेमोरियल फाउन्डेसनले जोड दिएको छ।
गणतन्त्र दिवसका अवसरमा फाउन्डेसनले आज जारी गरेको विज्ञप्तिमा सबै शक्ति सशक्त र संवेदनशील भएर गणतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड दिएको हो। सही सोचका साथ गरिने सही अभ्यासले नै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने फाउण्डेशनका अध्यक्ष एवं नेपाली कांग्रेसका पूर्व महामन्त्री डा शशाङ्क कोइराला र सदस्य सचिव अतुल कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
जनताले छानेका प्रतिनिधि नै राष्ट्राध्यक्ष हुने र जननिर्वाचित प्रतिनिधिबाट शासित हुन पाउने लोकतान्त्रिक अभ्यासको सुन्दर रुप लोकतान्त्रिक गणतन्त्रभन्दा राम्रो व्यवस्था विश्वमै नभएकाले यसलाई संस्थागत गरिनुपर्नेमा फाउन्डेसनले जोड दिएको छ। प्रत्यक्ष निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले गर्ने सही अभ्यासले नै यो व्यवस्थालाई संस्थागत गर्दै लैजाने विश्वास लिएको जनाइएको छ।
आजको युगमा राजनीतिमा निष्ठा, आदर्श र सिद्धान्तको कुरा गर्न जति सहज छ कार्यान्वयन असहज हुने भएकाले सही अभ्यास गरिनुपर्ने विज्ञप्तिमा भनिएको छ। हाल देशमा देखिएको आर्थिक समस्या समाधान गरी सुशासन दिने गरी सरकारले काम गर्नुपर्नेमा विज्ञप्तिमा जोड दिइएको छ।











![सुकुम्बासीमाथिको दमन र महँगीविरुद्ध माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1778667168.jpg)