Kathmandu Press

राष्ट्रिय ललितकला प्रदर्शनी आजबाट

जेठ ३० गतेसम्म १५ दिन सञ्चालन हुने प्रदर्शनीमा यसपटक सबैभन्दा बढी ६०९ जना कलाकारका ६९५ वटा चित्रकला समावेश गराइने भएको छ ।
राष्ट्रिय ललितकला प्रदर्शनी आजबाट

काठमाडाैं, जेठ १५ः ललितकला क्षेत्रको उत्सव मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ आज(सोमबार)बाट सुरु हुन लागेको छ । जेठ ३० गतेसम्म १५ दिन सञ्चालन हुने प्रदर्शनीमा यसपटक सबैभन्दा बढी ६०९ जना कलाकारका ६९५ वटा चित्रकला समावेश गराइने भएको छ ।

प्रदर्शनीको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोह बाहेक अन्य सबै तयारी पूरा भइसकेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले जानकारी दिए ।

यसपटकको प्रदर्शनी जेठ १५ गतेबाट ३० गतेसम्म प्रतिष्ठानको कार्यालय नक्साल र नेपाल कला परिषद् बबरमहलमा हुनेछ । यसअघि वैशाख २ गते हुने सो प्रदर्शनी यसवर्षबाट गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेबाट सुरू गर्न लागिएको हो ।

यस वर्षको प्रदर्शनीमा गत वर्षभन्दा लगभग दोब्बर कलाकृति समावेश गरिएको छ । गतवर्ष ३४१ कलाकारका ३८९ कलाकृति प्रदर्शनीका लागि छनोट भएका थिए । साथै, प्रतिष्ठानले नियमित पुरस्कार तथा सम्मानसहित यस वर्षबाट कला प्रवर्द्धन सम्मान तथा प्रदर्शनीको सद्भावनादूतका रूपमा अनिल चित्रकारलाई सम्मान पनि गर्न लागेको छ ।

यसपालि ‘म, मेरो देश र मेरो सिर्जना’ मुख्य विषय राखेर प्रदर्शनी हुन लागेको प्रदर्शनीको कार्यकारी समितिका संयोजक प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिए । यस वर्ष प्रदर्शनीका बारेमा उत्कृष्ट रिपोर्टिङ गर्ने पाँच जनालाई नगदसहित पुरस्कृत गरिने छ भने विभिन्न तहमा अध्ययनरत् विद्यार्थीमध्ये प्रदर्शनीको समीक्षा लेख्नेहरूबाट पहिलो, दोस्रो, तेस्रो र विशेषगरी आठ जनालाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

यस वर्ष अरनिको राष्ट्रिय ललितकला सम्मान अग्रज कलाकार मदन चित्रकार र मानबहादुर दोङलाई प्रदान गरिने भएको छ । प्रदर्शनीको उद्घाटनका क्रममा दुई  पत्रकारसहित चित्रकला विधामा राष्ट्रिय र प्रादेशिक पुरस्कारहरूसमेत प्रदान गरिनेछ ।

प्रकाशित मिति: १०:५३ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्