रोनाल्डोको दुई गोलले युभेन्ट्स बिजयी
काठमाडौं, माघ २० : साविक विजेता युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा सहज जित निकालेको छ । आइतबार भएको खेलमा युभेन्ट्सले फियोरेन्टिनालाई ३/....

काठमाडौं, माघ २० : साविक विजेता युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा सहज जित निकालेको छ । आइतबार भएको खेलमा युभेन्ट्सले फियोरेन्टिनालाई ३/० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । म्याथिस डी लिग्टले थप एक गोल गरे । खेलको ४० औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । ८० औं मिनेटमा रोनाल्डोले पुनः पेनाल्टीमा दोस्रो गोल गर्दा युभेन्ट्स २/० ले अग्रता लियो ।
त्यसपछि खेलको ९० औं मिनेटमा डी लिग्टले गोल गर्दै युभेन्ट्सलाई ३/० को जित दिलाए । जितसँगै युभेन्ट्सले २२ खेलमा ५४ अंक जोडेको छ । जितपछि युभेन्ट्सले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको इन्टर मिलानको ४८ अंक रहेको छ । २५ अंक जोडेको फियोरेन्टिना १४ औं स्थानमा रहेको छ ।











