पाल्पाको वसन्तपुरमा कामाख्या भगवती मन्दिर
मन्दिरको मध्यभागमा विधिपूर्वक सो शिला राखेर गुवाहाटीस्थित कामाख्या भगवती मन्दिरमा राखिएकै स्वरुपमा निर्माण गरिएको गोलाकारको जलकुण्डमा उनीबाटै ल्याइएको कलशको जल राखी सो कुण्डमा निर्माण भएको अष्टकोणका वेदीमाथि कामाख्या भगवतीको मूर्ति प्राणप्रतिष्ठा आह्वान गरिएको हाे।
पाल्पा, जेठ १३ : पाल्पाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा कामाख्या भगवतीको मन्दिर स्थापना गरिएको छ। उक्त मन्दिरमा मूर्तिको प्राणप्रतिष्ठाका लागि शुक्रबारदेखि सातदिने कालिका महापुराण पनि सुरु भएको छ।
भारतको गुवाहटीस्थित कामाख्या भगवतीबाट विधिपूर्वक आमन्त्रण गरी ल्याइएकी कामाख्या देवीको प्राणप्रतिष्ठाका लागि सुरु भएको महापुराण जेठ १८ गतेसम्म सञ्चालन हुनेछ।
‘कामाख्या भगवती मूर्ति प्राणप्रतिष्ठा अनुष्ठान समारोह’ नाम दिइएको यस पुराणमा जपात्मक, पाठात्मक र हवनात्मक विधिमार्फत वसन्तपुरमा निर्मित मन्दिरमा कामाख्या देवीको स्थापनार्थ कालिका पुराणको पाठपरायण र देवी महात्म्यासहितको भक्ति संगीत गरिनेछ।
वनारसको विवेकाश्रम सांगदेवका आचार्यहरु, कामाख्या भगवतीको अनुष्ठान गरिरहेका साधक एवं नेपाली पुजारी तथा वेदाचार्य र नेपालका धर्मगुरु व्यासाचार्य किशोर गौतम सहितले कामाख्यादेवीलाई विधिपूर्वक आमन्त्रण गरी मन्दिर भित्र्याउनुभएपछि मूर्तिको प्राणप्रतिष्ठा अनुष्ठान महायज्ञ सुरु भएको हो।
यसका लागि म्याग्दीको गलेश्वरबाट चक्रसहितको देवशीला गुवाहाटीस्थित कामाख्या भगवती मन्दिरमा लगी त्यहाँ दुर्गा कवच स्तुति गरी त्यहाँका पुजारी र वेदाचार्यबाट विधिविधानका साथ त्यहीँको कुण्डको जलबाट अभिषेकसहित पूजापाठ र स्तुति गरी सो शिला र कामाख्या भगवतीको कुण्डको जल भरिएको कलश नेपाल भित्र्याइएको हो।
यसरी ल्याइएको शिलालाई शास्त्रीय विधिअनुसार पूजा, अर्चना गरी वसन्तपुरमा निर्माण भएको मन्दिरमा स्थापना गरिएको धर्मगुरु व्यासाचार्य किशोरकुमार गौतमले जानकारी दिए।
यहाँ निर्मित मन्दिरको मध्यभागमा विधिपूर्वक सो शिला राखेर गुवाहाटीस्थित कामाख्या भगवती मन्दिरमा राखिएकै स्वरुपमा निर्माण गरिएको गोलाकारको जलकुण्डमा उनीबाटै ल्याइएको कलशको जल राखी सो कुण्डमा निर्माण भएको अष्टकोणका वेदीमाथि कामाख्या भगवतीको मूर्ति प्राणप्रतिष्ठा आह्वान गरिएको व्यासाचार्य गौतमले जानकारी दिए।
यसरी कामाख्या भगवती शक्तिपीठमा राख्नुपर्ने श्रीगणेश, दुर्गा, महादेव, विष्णु र सूर्यनारायण भगवानका मूर्ति राखी विधिपूर्वक प्राणप्रतिष्ठा र पुजन गरिएको छ । पाञ्चायान देवताका साथै कामाख्या मन्दिरमा रहेजस्तै पञ्चमुखी कामेश्वर महादेव र कामेश्वर शिवलिङ्गको पनि स्थापना गरिएको छ।
शास्त्रीय विधि एवं वास्तुशास्त्रका आधारमा कामाख्या भगवतीको मन्दिर कामाख्या शैलीमा नै निर्माण गरिएको छ। यसका लागि करिब दुई वर्षअघि वैदिक सनातन गुरु लक्ष्मण गौतमसहितका आचार्य र लुम्बिनी केबलकारका इञ्जिनियरको समूह गुवाहाटीस्थित कामाख्या मन्दिर गई मन्दिरको संरचनाको शास्त्रीय महत्व र निर्माण शैलीको अध्ययन गरेर सोहीबमोजिमको मन्दिर यहाँ निर्माण गरिएको लुम्बिनी केबलकारका आयोजना व्यवस्थापक गोकुल साउदले जानकारी दिए। केबलकार आयोजनाअन्तर्गत नै यो मन्दिर पनि निर्माण गरिएकाले मन्दिरको मात्र निर्माण लागत नछुट्याइएकाले भन्न नसकिने उनले बताउए।
बुटवल उपमहानगरपालिका–३ बमघाटमा आधार स्टेसन रही सञ्चालनमा आएको लुम्बिनी केबलकारको टप स्टेसन पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा पर्दछ। बुटवल बजारबाट केबलकार चढेर पनि कामाख्या भगवतीको दर्शनका लागि जान सकिन्छ।
पहिलेदेखि नै नै वसन्तपुरको यही स्थानमा स्थानीयले सामान्य देवीस्थानमा कामाख्या माईको पूजाआजा गर्दै आएकाले सोही स्थानमा सोही स्थानमा व्यवस्थितरुपमा र गुवाहाटीस्थित कामाख्या देवीकै स्वरुपमा मन्दिर निर्माण गरिएको जानकारी लुम्बिनी केबलकार प्रालिका प्रोजेक्ट इन्जिनियर सनि चौरसियाले दिए।
भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी तथा लुम्बिनी प्रदशेका अन्य धार्मिक पर्यटकीय क्षेत्रको अध्ययनमा आउने स्वदेशी तथा विदेशी धार्मिक एवं सांस्कृतिक पर्यटकका लागि कामाख्या भगवती मन्दिर एक नयाँ धार्मिक पर्यटकीय गन्तव्य हुने स्थानीय पर्यटन व्यवसायीहरु बताउँछन्।
कामाख्या भगवती शक्तिपीठमध्येकी एक देवी हुन् । उनको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेकाले भारतमा बर्सेनि लाखौँ भक्तजन पुग्ने गरेका बताउँदै धर्मगुरु किशोर गौतमले भारतका गोरखपुर, लखनउलगायतका नेपालको सीमा क्षेत्रका भारतीय नागरिकका साथै सबै भक्तजनका लागि कामाख्या भगवतीको दर्शन यहीँ सहज हुने जानकारी दिए।











![सुकुम्बासीमाथिको दमन र महँगीविरुद्ध माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1778667168.jpg)