एपीएफको विपद् प्रतिकार्य कृतिम अभ्यास
मनसुनको सुरुआतसँगै घट्न सक्ने बाढीपहिरो, डुबान एवं विपद्का घटनामा चुस्तदुरुस्त रुपमा परिचालन गर्नका लागि पूर्वतयारी स्वरुप विपद् प्रतिकार्य कृत्रिम अभ्यास गरिएको हो।
काठमाडौं, जेठ १३ : सशस्त्र प्रहरी बल, नेपाल नं ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बु काठमाडौंले कीर्तिपुर नगरपालिका–६ स्थित टौ दहमा विपद् प्रतिकार्य कृतिम अभ्यास आयोजना गरेको छ।
मनसुनको सुरुआतसँगै घट्न सक्ने बाढीपहिरो, डुबान एवं विपद्का घटनामा चुस्तदुरुस्त रुपमा परिचालन गर्नका लागि पूर्वतयारी स्वरुप विपद् प्रतिकार्य कृत्रिम अभ्यास गरिएको हो।
सशस्त्र प्रहरी बल, नेपाल नं १८ निलबराही गण बलम्बु र नं २० विपद् उद्धार गण सिनामङ्गलको सहकार्यमा उपलब्ध खोज तथा उद्धारका स्रोतसाधनको अधिकतम प्रयोग गरी जिल्ला एवं प्रदेशस्थित विपद् व्यवस्थापनसँग सरोकार राख्ने निकाय तथा अन्य सुरक्षा निकायहरुलाई सहभागी गराइ बाहिनीस्तरिय कृत्रिम अभ्यास गरिएको हो।
अभ्यास अवलोकनमा पुगेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमले कुनै पनि विपद्को अवस्थामा उद्धारकर्ताले सामना गर्नुपर्ने परिदृष्यको वास्तविकताको झल्को दिने कृतिम अभ्यासले विपद् प्रतिकार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
उनले सशस्त्र प्रहरी बल, नेपाललाई राज्य प्रदत्त विभिन्न कार्यदेशमध्ये विपद् व्यवस्थापन एउटा महत्वपूर्ण कार्यादेश भएको उल्लेख गर्दै यस प्रकारका कार्यादेश सम्पन्न गर्न सीप तथा क्षमतायुक्त दक्ष जनशक्ति आवश्यक रहेको बताए।
कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले सशस्त्र प्रहरी बल, नेपालले प्रदर्शन गरेको पूर्वतयारीको कृतिम अभ्यासले विपद् प्रतिकार्यमा परिचालन हुँदा विपद्बाट हुने क्षतिलाई न्यूनीकरण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम थापासहित उपत्यकास्थित सशस्त्र प्रहरी बल, नेपालका गणका गणपति तथा गुल्मपति, नेपाली सेना र नेपाल प्रहरीका अधिकृत, जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रतिनिधिलगायत अन्य सरोकारवाला निकाय तथा संघ संस्थाहरुका प्रतिनिधिको सहभागिता थियो।











![सुकुम्बासीमाथिको दमन र महँगीविरुद्ध माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1778667168.jpg)