Kathmandu Press

कोरोना भाइरसका कारण चिनियाँ पर्यटक घटे, हाेटल सुनसान

काठमाडौं, माघ १९ : जनवरी १ तारिखमा काठमाडौंको दशरथ रंगशालामा नेपाल भ्रमण वर्षको सुभारम्भ हुँदा एक वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखिएक....

कोरोना भाइरसका कारण चिनियाँ पर्यटक घटे, हाेटल सुनसान
फाइल फाेटाे

काठमाडौं, माघ १९ : जनवरी १ तारिखमा काठमाडौंको दशरथ रंगशालामा नेपाल भ्रमण वर्षको सुभारम्भ हुँदा एक वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखिएको थियो। त्यहीअनुसार, पर्यटक आउने अनुमान पनि गरिएको थियो।

तर, कोरोना भाइरसका कारण पर्यटकको आगमन घटेको छ।  पर्यटन वर्षको पहिलो महिना जनवरीमा चीनमा फैलिएको कोरोना भाइरसका कारण नेपालको पर्यटनमा पनि असर पर्न थालेको छ।

चीनमा फैलिएको भाइरसको प्रकोपका कारण नेपालको पर्यटन क्षेत्रमा ठूलो असर पर्ने पर्यटन व्यवयासी बताउँछन्। केही दिनयता चीनको हुबाइ प्रान्तको राजधानी वुहानमा देखा परेको कोरोला भाइरसका कारण नेपाल आउने पर्यटक न्यून भएका छन्। भाइरसका कारण चीन सरकारले आफ्ना नागरिकलाई देश बाहिर नजान निर्देशन दिएपछि नेपाल आउने चिनियाँ पर्यटकको संख्या घटेको हो।

Hardik ivf

पछिल्लो केही समययता चिनियाँ नयाँ वर्ष मनाउन चिनियाँहरु नेपाल आउने गरेका थिए। उनिहरु नेपाल आउने वेलामा भाइरसको प्रकोप हुँदा मुख्य पर्यटकीय क्षेत्रमा पर्यटकको संख्या शून्य भएको व्यवसायीहरु बताउँछन्।

कोरोना भाइरस संक्रमण हुने अघि नेपाल आएका चिनियाँहरु आफ्नो यात्रा पूरा गरी फर्किएका छन्, नेपाल आउन बुकिङ गरेको अधिकांश चिनियाँले बुकिङ रद्द गरेका छन्। टुर प्याकेजमा दैनिक ७० जनाभन्दा बढि चिनियाँ पर्यटक आउने ठमेलको जुगल होलिडेजमा जनवरी २६ देखि शून्य भएको छ।

जुगलका टुर गाइड तुलसिराज अधिकारी भाइरसका कारण आगामी फेब्रुअरी ६ तारिखसम्मका लागि चिनियाँ पर्यटकले बुकिङ भएका सबै टुर प्याकेज रद्द गरेको बताउँछन्।

‘चिनियाँ सरकारले नै देश बाहिर नजान आग्रह गरेपछि उनिहरुले सबै बुकिङ रद्द गरेका हुन्। अन्य समयमा हामीहरुलाई भ्याइ नभ्याइ हुन्थ्यो, तर २६ तारिखदेखि खाली भएको छ,’ उनले भने, ‘हाम्रो कम्पनीमार्फत दैनिक चार–पाँच वटा गुप्रमा ७० जनाभन्दा बढी चिनियाँ पर्यटक आउथे। तर, अहिले शून्य भएको छ।’

१२ जनादेखि ३२ जनासम्मको गु्रपमा चिनियाँ पर्यटकहरु आउने गरेकोमा कोरोला भाइरस पछि शून्य भएको उनले बताए। उनिहरु सात रातको टुर प्याकेज नेपाल आएर दुई रात काठमाडौ, एक रात नगरकोट, दुई रात चितवन र दुई रात पोखरासम्म पुगेर स्वदेश फर्कने गरेका थिए।

चिनियाँ पर्यटकको मुख्य सिजनमा नै भाइरसका कारण पर्यटन क्षेत्रमा ठूलो समस्या भएको पोखरा तालबाराहीमा रहेको होटल स्नोल्याण्डका सञ्चालक गणेश थापा बताउँछन्। ‘दैनिक खचाखच हुने पोखराका मुख्य पर्यटकीय क्षेत्रहरुमा चिनियाँ पर्यटक देख्नै मुस्किल भएको छ,’ थापाले भने, ‘सिजनमा खचाखच हुने पोखराका अधिकांश होटलको अनुपेन्सी १० प्रतिशत मात्रै छ।’

चिनियाँ नयाँ वर्षको वेलामा पोखरामा ६० प्रतिशत चिनियाँ पर्यटकको आगमन हुने गरेकोमा हाल शून्य भएको उनी बताउँछन्। ‘हाम्रो होलटमा नयाँ वर्षको लागि दैनिक १० भन्दा बढि कोठा बुकिङ भएकोमा कोरोला भाइरसका कारण सबै बुकिङ रद्द भएको छ,’ उनले भने।

अध्यागमन विभागका सूचना अधिकारी रामचन्द्र तिवारी चिनियाँ पर्यटकको संख्यामा आधाभन्दा कमि भएको बताउँछन्। उनका अनुसार जनवरी १ देखि २५ सम्म दैनिक चारसयभन्दा बढि चिनियाँ पर्यटक नेपाल आएकोमा जनवरी २६ देखि दुईसयको हाराहारीमा नेपाल प्रवेश गरेका छन्। चिनियाँ सरकारले आफ्ना नागरिकलाई देश बाहिर नजान निर्देशन दिएकाले चीनबाट सिँधै नभएर अन्य देशका रहेका चिनियाँहरु नेपाल आएका छन्।

अध्यागमन विभागको तथ्यांकअनुसार, नस् २०१९ मा हवाइ तथा स्थल मार्गहुँदै ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटक नेपाल आएका थिए। धेरै पर्यटक आउने देशमध्येमा दोस्रो स्थानमा रहेको चीनबाट एक लाख ६९ हजार ५४३ जना रहेको छ।

सन् २०१९ को तुलनामा सन् २०२० मा एक लाख ८० हजार ४५७ जना थप गरेर तीन लाख ५० हजार पुर्‍याउने सरकारले अपेक्षा गरेको छ। गत वर्षको तुलनामा चिनियाँ पर्यटकको संख्यामा आधाभन्दा बढि बृद्धि गर्ने सरकारको योजनामा कोरोना भाइरसले असर पर्ने भएको छ।

चिनियाँ पर्यटकको संख्यामा कमी आएपनि चीनका विभिन्न शहरवाट उडान गर्दै आएका एयरलाइन्सले भने उडान रद्द नगरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थल कार्यालयका महानिर्देशक देवेन्द्र केसी नेपाली वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले शनिबारवाट चीनका तीन शहरमा उडान रद्द गर्ने भएपनि चिनियाँ वायुसेवा कम्पनीले हालसम्म कुनै जानकारी नगराएको बताए।

हाल चीनबाट चार चिनियाँ वायुसेवा कम्पनीहरु एअर चाइना, चाइना सदर्न, चाइना इस्टर्न र सिचुवान एअरलाइन्सले दैनिक उडान गर्दै आएका छन्।

प्रकाशित मिति: १३:०० बजे, आइतबार, माघ १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्