नेपाली कांग्रेस काभ्रेले गर्यो प्रथम जिल्ला सम्मेलन
नेपाली कांग्रेस काभ्रेका सभापति एवं बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थ लामाले संगठनको लक्ष्य, गन्तव्य पुरा गर्न विधानत सबै अनुशासित भएर लाग्नुपर्ने बताए।
काभ्रे, जेठ ६ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन पश्चातको प्रथम काभ्रे जिल्ला सम्मेलन शनिवार बनेपामा सम्पन्न भएको छ । विधानमा भएको व्यवस्था अनुसार गरिएको यो पहिलो जिल्ला सम्मेलन हो।
१४ औं महाधिवेशनका क्षेत्रीय प्रतिनिधिका अलावा, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधी, कांग्रेस कृयाशिलका साथै लोकतन्त्रवादीहरु सहभागी सम्मेलनको उद्घाटन नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले गरिन्।
उनले स्वतन्त्र न्यायलयको पक्षमा कांग्रेस सदैव रहेको भन्दै अदालतले गर्ने निर्णय, फैसला कांग्रेसलाई स्वीकार्य हुने तर्क गरिन्। सामाजिक सञ्जाल प्रयोग गरी जनतालाई दिगभ्रमित पार्ने राजनीतिक शक्तिहरु मौलाइरहेको भन्दै उनले विचार, सिद्धान्त स्पष्ट भएका लोकतान्त्रिक शक्तिहरुमा भविष्य भएको बताइन्।
केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले सानो पार्टीको ठूलो नेता हुनुभन्दा इतिहास भएको, ठूलो पार्टीको कार्यकर्ता हुनुमा नै आफूलाई गर्व लागेको बताइन्। यस्तै, पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले कांग्रेस विचार र संगठनले चल्ने पार्टी भएको भन्दै व्यक्तिका विषय गौण भएको बताए।

नेपाली कांग्रेस काभ्रेका सभापति एवं बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थ लामाले संगठनको लक्ष्य, गन्तव्य पुरा गर्न विधानत सबै अनुशासित भएर लाग्नुपर्ने बताए। उनले गतिहीन र दिशाहीन राजनीतिक दलको कुनै राजनीतिक भविष्य नभएको भन्दै गन्तव्य र अठोट स्पष्ट भएको नेपाली कांग्रेसलाई काभ्रेमा पहिलो पार्टी बनाउने अठोट व्यक्त गरे।
कार्यक्रममा बाग्मती प्रदेशका महामन्त्री राजु श्रेष्ठ, काभ्रे कांग्रेसका अग्रज नेता इन्द्रमणि अधिकारी, पूर्व सहसभापति तिर्थबहादुर पसखल, उपसभापति ठाकूरप्रसाद न्यौपाने, रमेशप्रसाद हुमागाई, नेता अच्युतप्रसाद पौडेल, बाग्मती प्रदेश सदस्य सुनिता लामा, प्रतिनिधी सभा क्षेत्र नं १ का सभापति दिनेश लामा, प्रदेशसभा १ (ख)का सभापति चन्द्रबहादुर लामा, १ (क) का सभापति राम योञ्जन, २ (क)का सभापति हेम लामा, नेविसंघ काभ्रेका सभापति अन्जनराज खतिवडा लगायतले संगठन निर्माणमा जोड दिए।
जिल्ला सम्मेलनकै अवसरमा स्वास्थ्य शाखाले गरेको कार्यक्रममा ६५ जनाले रक्तदान गरेका थिए भने २ सय १० जनाको आँखा परिक्षण गरिएको थियो।










![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)
