राष्ट्रिय योजना आयोगको पुनसंरचना गरिने, आयोजना वर्गीकरण गरी बजेट दिइने
सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपतिले योजना आयोगलाई नीति योजना र अनुगमनको केन्द्रीय निकायको रूपमा विकास गर्ने लक्ष्य बनाएको बताए।
काठमाडौं, जेठ ५ : सरकारले राष्ट्रिय योजना आयोगको पुनसंरचना गर्ने तयारी गरेको छ।
सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपतिले योजना आयोगलाई नीति योजना र अनुगमनको केन्द्रीय निकायको रूपमा विकास गर्ने लक्ष्य बनाएको बताए।
नीति तथा कार्यक्रमले नीति अनुसन्धानमा रहेको संस्थागत दाेहोरोपन हटाउने योजना बनाएको पनि उनले उल्लेख गरे। ‘सार्वजनिक आधारमा हुने नीति अध्ययन, अनुसन्धानको जिम्मा विश्वविद्यालयमार्फत गराइने छ,’ उनले भने, ‘तथ्यमा आधारित नीति तर्जुमाका लागि राष्ट्रिय तथ्यांक प्रणालीको संस्थागत सुदृढीकरण गरिने छ।’
उनले सरकारले आयोजना वर्गीकरण निर्देशिकाबमोजिम संघ, प्रदेश र स्थानीय तहमा सञ्चालन हुने आयोजना वर्गीकरण गरी बजेट व्यवस्थापन गरिने जानकारी दिएको बताए।
‘विकास आयोजनाहरू निर्धारित समयमा लागत र गुणस्तरमा सम्पन्न गरिनेछ। आयोजना तयारीका सम्पूर्ण चरण सम्पन्न भएका आयोजनामा मात्र बजेट विनियोजन गरिनेछ,’ उनले भने, ‘राष्ट्रिय गौरव र रूपान्तरणका आयोजनका कार्यान्वयनमा प्राथमिकता दिइनेछ। आयोजना वर्गीकरण निर्देशिकाबमोजिम तीन तहमा सञ्चालमा हुने आयोजनाको वर्गीकरण गरि बजेट व्यवस्थापन गरिनेछ।’












