हराएका २३ मोटरसाइकल धनीलाई हस्तान्तरण
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रम गर्दै कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले १२ वटा मोटरसाइकल र ११ वटा स्कुटर धनीलाई हस्तान्तरण गरे।
काठमाडौं, जेठ ४ : विभिन्न समयका हराएका २३ वटा मोटरसाइकल ट्राफिक प्रहरीले बिहीबार धनीलाई हस्तान्तरण गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रम गर्दै कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले १२ वटा मोटरसाइकल र ११ वटा स्कुटर धनीलाई हस्तान्तरण गरे।
योसँगै चालु आर्थिक वर्षमा ट्राफिक प्रहरीले ४ सय २७ वटा सवारी साधन धनीलाई जिम्मा लगाएको छ।
चालु आर्थिक वर्षमै ३० ओटा चोरीका २ पाङ्ग्रे सवारी साधनसहित चोरीमा संलग्न ३४ जनालाई आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ।
धनीले दिएको निवेदनको आधारमा खोजी गर्ने क्रममा, केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाको सुकेधारा, दरबारमार्ग, बालकुमारी, जगाती, नयाँबसपार्क, मुलपानी, नेपालटार, नयाँबानेश्वर, ठिमीलगायतका स्थानमा मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेको हो।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि स्वयम् सवारी धनी बिशेष चनाखोका साथै सजक हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बन्नु पर्ने कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए।
उनले सवारी साधन चोरी तथा हराउनबाट जोगाउन सवारी सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरु जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरु अवलम्वन गर्न पनि उनले अनुरोध गरे।












