नियमावली संशोधनका लागि मस्यौदा समिति गठन
सांसद देवेन्द्र पौडेलले ‘सङ्घीय संसदकाे संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली संशोधन मस्यौदा समिति गठन गरियोस्’ भनी प्रस्ताव गरेकाे थियो। सो समिति १६ सदस्यीय छ।
काठमाडाैं, जेठ १ : प्रतिनिधिसभाको आजको बैठकले ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन' नियमावली संशोधनका लागि मस्यौदा समिति गठन गरेको छ।
सांसद देवेन्द्र पौडेलले ‘सङ्घीय संसदकाे संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली संशोधन मस्यौदा समिति गठन गरियोस्’ भनी प्रस्ताव गरेकाे थियो। सो समिति १६ सदस्यीय छ।
समितिले सात दिनभित्र नियमावलीको मस्यौदा गर्नुपर्नेछ। सांसद पौडेलले गरेको सो प्रस्तावलाई सांसदद्वय ईश्वरी न्यौपाने र योगेश भट्टराईले समर्थन गरेका थिए।
त्यस्तै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट खानेपानीमन्त्री महिन्द्रराय यादवले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए। सो प्रस्तावलाई सदनको सर्वसहमतिले सम्बन्धित समितिलाई पठाइएको छ।
यस्तै, बैठकले २०६४ सालको संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। बस्नेतको ७८ वर्षको उमेरमा गत वैशाख २९ गते शुक्रबार निधन भएको हो। प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ४ गते ११ बजे बस्नेछ।










![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)
