चिट्ठा परेको भन्दै २२ लाख ठगी गर्ने गिरोहका तीन पक्राउ
पक्राउपर्नेमा जिल्लाको कटारी नगरपालिका–३ निवासी उज्वल थापामगर, चितवन जिल्ला रत्ननगर नगरपालिका–२ का सुशील श्रेष्ठ र काठमाडौं महानगरपालिका १० बुद्धनगरमा लुकछिपी बसेका कटारी–३ का विशाल थापामगर छन्।
उदयपुर, वैशाख ३१ : विभिन्न स्थानका सोझासाझा मानिसलाई चिट्ठा प¥यो भन्दै रकम असुल गर्ने गिरोहका तीन पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले उनीहरुमाथि ठगी तथा आपराधिक लाभ (एक्सटर्शन)सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ।
उनीहरुले दुई महिनाभित्र २२ लाखभन्दा बढी रकम ठगी गरेका थिए।
चिट्ठा परेको नाममा सम्बन्धित व्यक्तिले करस्वरुप तोकिएकमोजिमको रकम बुझाउनुपर्ने भन्दै पहिला नै रकम असुल गरेर झुक्याउने गरेको गुनासो बढेपछि पटकपटकको खोजी र अनुसन्धानपछि ती अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउपर्नेमा जिल्लाको कटारी नगरपालिका–३ निवासी उज्वल थापामगर, चितवन जिल्ला रत्ननगर नगरपालिका–२ का सुशील श्रेष्ठ र काठमाडौं महानगरपालिका १० बुद्धनगरमा लुकछिपी बसेका कटारी–३ का विशाल थापामगर छन्।
ठगी गर्ने गिरोहले भारतीय नागरिक प्रकाश वर्माको नाममा रहेको एक कम्पनीबाट चिट्ठा परेको भनेर जिल्लाका सोझासाझा जनतालाई ह्वाटस् एप्समार्फत उक्त कम्पनीको छापसमेतको कागजात देखाएर सुरुमै २० हजारदेखि एक लाखसम्म कर लिएर आफ्ना खातमा रकम संकलन गर्न गरेको पाइएको छ।