नख्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

ललितपुर, वैशाख २८ः ललितपुरस्थित नख्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । कारागारको क्षमता एक हजार दुई सय भएपनि हाल त्यहाँ पुर्पक्षका लागि थुनामा राखिएको र जेल चलान भएका गरी कुल एक हजार पाँच सय सात बन्दी रहेका छन् ।
क्षमताभन्दा बढी भए तापनि हाललाई अन्य कारागारको जस्तो नख्खु कारागारमा व्यवस्थापनको समस्या नरहेको कारागार प्रशासक कल्पना घिमिरेले बताइन् । तर, अहिले भएका भन्दा कैदीबन्दी थपिएमा भने व्यवस्थापनमा समस्या हुनसक्ने उनको भनाइ छ । हाल नख्खु कारागारमा ६९५ पुर्पक्षका लागि थुनामा राखिएका छन् जसमध्ये ४५ जना विदेशी नागरिक हुन् ।
त्यसैगरी, ८१२ कैदीबन्दीमध्येमा ५७ जना विदेशी नागरिक रहेका छन् । कैदीबन्दी रिहाइ हुने र अदालतको फैसलाअनुसार चलान हुने भएकाले यो सङ्ख्या प्रत्येक दिन फेरबदल हुने कारागार कार्यालयका अधिकृत मुरारी कार्कीले जानकारी दिए ।
हाल कारागारमा तीन ब्लक छन् । पुर्पक्षका लागि थुनामा राखिएका र अदालतको फैसलापछि जेल चलान भएकालाई छुट्टाछुट्टै ब्लकमा राखिएको छ । कारागार प्रशासक कल्पना घिमिरेका अनुसार, सिआर र डिआर ब्लक राणाकालीन संरचना भएकाले ती दुई ब्लकलाई केही मर्मत गरेर यथावत राखिएको छ भने नयाँ ब्लक पूर्णरुपमा नयाँ तरिकाले निर्माण गरिएको छ ।
कारागारमा ३२ प्रकारका घटनामा आधारित कैदीबन्दीमध्येमा सबैभन्दा बढी जबर्जस्ती करणी र लागुऔषधसँग सम्बन्धित कैदीबन्दी रहेको कार्यालय प्रशासक घिमिरेले जानकारी दिइन् । 'कैदीबन्दीका लागि विभिन्न सीपमूलक तालिमको व्यवस्था छ । कारागारमा पढ्नका लागि करिब सात हजारभन्दा बढी पुस्तकसहितको पुस्तकालय छ । पढ्न चाहनेले कारागारबाट नै स्नातकोत्तर गर्नेसमेत व्यवस्था रहेको छ,' उनले भनिन् ।
कारागारभित्र खेलकूद लगायत अन्य विभिन्न सेवासुविधा सरकारले उपलब्ध गराउँदै आएको र कैदीबन्दी बिरामी परेमा उपचारको व्यवस्था समेत रहेको छ ।












