कामु प्रधानन्यायाधीशको सन्देश : न्यायपालिका सुधारका कार्यक्रम अघि बढाइएको छ
न्यायपालिकाको स्वतन्त्रतासम्बन्धी मूल्य, मान्यतालाई अक्षुण्ण राख्दै छिटोछरितो, स्वच्छ, निष्पक्ष, सुलभ, गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादन गर्नुपर्ने भनाई पनि कार्कीले राखेका छन्।
काठमाडौं, वैशाख २६ : कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले मंगलबार कानुन दिवसको उपलक्षमा लिखित सन्देश दिँदै न्यायपालिका सुधारका कार्यक्रमलाई अघि बढाएको बताएका छन्।
न्यायपालिकाको स्वतन्त्रतासम्बन्धी मूल्य, मान्यतालाई अक्षुण्ण राख्दै छिटोछरितो, स्वच्छ, निष्पक्ष, सुलभ, गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादन गर्नुपर्ने भनाई पनि कार्कीले राखेका छन्।
उक्त सन्देशमा कानुन दिवस, २०८० को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना समेत व्यक्त गरिएको छ।
‘सबैलाई न्याय सुनिश्चित गर्ने तथा सुशासन र गुणस्तरीय सेवा प्रवाहको प्रत्याभूतिमार्फत भरोसायोग्य न्याय प्रणालीको विकास गर्न न्यायपालिकाले विभिन्न सुधारका कार्यक्रमलाई अगाडि बढाइरहेको पनि म यस अवसरमा उल्लेख गर्न चाहन्छु’, सन्देशमा भनिएको छ, ‘यस प्रकारका सुधारका प्रयासलाई सार्थक र परिणाममुखी बनाई न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि गर्न कानुन दिवसले हामी सबैमा थप ऊर्जा प्राप्त हुने विश्वाससमेत व्यक्त गर्दछु।’
मुलुकमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि तथा सामाजिक न्याय सुनिश्चित गर्न र सहज पहुँचयुक्त एवं जनआस्थामा आधारित न्याय प्रणालीको स्थापना र विकासका लागि आजको यस विशेष दिनले प्रेरणा प्रदान गर्ने विश्वास सन्देशमा व्यक्त गरिएको छ।
नेपालको संविधानले प्रत्याभूत गरेका हक–अधिकारको सुनिश्चितता गर्दै आम नागरिकको लामो समयदेखिको विकास र समृद्धिप्रतिको अभिलाषा पूरा गर्न एवं सुशासनको अनुभूति दिलाउन राज्यका सबै निकायले आ–आफ्नो तहबाट योगदान गर्न सक्नुपर्ने भनाई कामु प्रधानन्यायाधीश कार्कीको छ।
प्रधान न्यायालय ऐन, २००८ बने पनि विस २००९ वैशाख २६ गतेबाट लागू भएको दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाइँदै गरिएको छ। यस अवसरमा न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको स्थापनाका लागि उक्त ऐनले खडा गरेको जगलाई थप मजबुत बनाउन आ–आफ्नो ठाउँबाट योगदान गर्ने सम्पूर्ण व्यक्तिहरूको योगदानको स्मरणसमेत कार्कीले गरेका छन्।











-1778738753.jpg)
