कोशी नामकरणको विराेधमा थप आन्दोलन, हाेटलमा बास नदिनेसम्मकाे कार्यक्रम
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले कोशी नाम खारेजी जागरण अभियान अन्तर्गत आमसभा, बहिष्कार, तालाबन्दी, कालो झण्डा गाड्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।
काठमाडाैं, वैशाख २५ : कोशी प्रदेशको पुनः नामकरणको हुनुपर्ने माग राख्दै आन्दोलनरत प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले कोशी नाम खारेजी जागरण अभियान अन्तर्गत आमसभा, बहिष्कार, तालाबन्दी, कालो झण्डा गाड्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।
समितिले कोशी नामकरणमा हस्ताक्षर गर्ने सांसद र प्रमुख दलका नेताविरुद्ध उनीहरु सहभागी कार्यक्रममा विरोध प्रदर्शन गर्ने र उनीहरुलाई होटलमा बस्न र कार्यक्रम नगर्न हल नदिन आग्रह गर्ने जनाएको छ।
त्यस्तै आन्दोलनलाई शसक्त बनाउनका लागि वैशाख २६ गते झापाको दमकमा राँके जुलुस प्रदर्शन गर्ने किरात राई यायोक्साका अध्यक्ष जीवन हाताचो राईले जानकारी दिए। त्यस्तै, वैशाख २८ गतेदेखि आमसभा, सङ्घर्ष समिति विस्तार, तालाबन्दी, कोशी नाम हटाउने, जलाउने, मेट्ने, कालो झण्डा गाड्ने र ८२ जना सांसदलाई बहिष्कार कार्यक्रम जारी राख्ने उनले बताए।
त्यस्तै जेठ २ गतेदेखि ५ गतेसम्म कोशी प्रदेशका १४ वटै जिल्लाका मुख्य स्थानमा जनजागरण अभियानलाई तिब्रता दिने, जेठ दोस्रो हप्ता वृहत भेला आयोजना गर्ने राईले बताए।
समितिले आफूहरुको आन्दोलन कुनै पनि पार्टी र नेतृत्व विशेषप्रति लक्षित नभएको प्रस्ट पारेको छ । त्यस्तै समितिले जनताले सडक संघर्ष गरिरहदा समस्या समाधानको साटो आन्दोलनलाई थप उत्तेजित पार्न र बिभिन्न आरोप लगाएर संघर्षलाई भड्काउने काम कोशी नाम पक्षधर दलले गरेको आरोप लगाएको छ। नामकरणको विरोधमा संघर्षरत जनतालाई राजावादी भनेर झुठा आरोप लगाउनु निन्दनीय भएको समितिको भनाइ छ।












