थप चार विद्युतीय शवदाह गृह निर्माण गरिने
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार सम्पन्न कोष सञ्चालक परिषद्को बैठकले पशुपति क्षेत्रमा दाहसंस्कारका लागि थप चार वटा विद्युतीय शवदाह गृह निर्माण गर्ने निर्णय गरेको हो।
काठमाडाैं, वैशाख २५ : पशुपति क्षेत्र विकास कोषले थप चार वटा विद्युतीय शवदाह गृह निर्माण गर्ने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार सम्पन्न कोष सञ्चालक परिषद्को बैठकले पशुपति क्षेत्रमा दाहसंस्कारका लागि थप चार वटा विद्युतीय शवदाह गृह निर्माण गर्ने निर्णय गरेको हो। विद्युतीय शवदाह गृहमा लाम लाग्न थालेपछि कोष सञ्चालक परिषद्ले यस्तो निर्णय गरेको हो।
निर्माण भएपछि सबै विद्युतीय शवदाह गृहमा निःशुल्क गर्ने निर्णय भएको कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जानकारी दिए।
पशुपति क्षेत्रमा अहिले दुई वटा विद्युतीय शवदाहगृह रहेकामा एउटाको यन्त्र बिग्रिएर थन्किएको र हाल एउटा मात्र सञ्चालनमा छ। कोष सञ्चालक परिषद्ले त्यसै स्थानमा थप चारवटा विद्युतीय शवदाह गृह निर्माण गर्न लागेको हो।
थप चारवटा विद्युतीय शवदाह गृह निर्माण सकिएसँगै कोषले शव निःशुल्क दाहसंस्कार गर्ने तयारी गरेको हो। अहिले पशुपति आर्यघाटमा शवदाह संस्कार गरेबापत दाउराबाट जलाउने घाटमा रु १५ हजार र विद्युतीय शव दाहगृहमा रु चार हजार शुल्क लिने गरिएको छ।












