राष्ट्रिय योजना आयोग सदस्य बुढाथोकीद्वारा शपथ
सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ समक्ष बुढाथोकीले आज शपथ लिनुभएको हो। बुढाथोकी दोस्रो पटक आयोगको सदस्यमा नियुक्त भएका हुन्।
काठमाडाैं, वैशाख २४ : राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त डा. प्रभु बुढाथोकीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ समक्ष बुढाथोकीले आज शपथ लिनुभएको हो। बुढाथोकी दोस्रो पटक आयोगको सदस्यमा नियुक्त भएका हुन्।
यसअघि डा श्रेष्ठ उपाध्यक्ष रहेकै बेला बुढाथोकी आयोगको सदस्य थिए। सरकारले यही वैशाख ८ गते बुढाथोकीलाई सदस्य पदमा नियुक्त गरे पनि शपथ भने बाँकी थियो। बुढाथोकीले आजै पदभार ग्रहणसमेत गरेका छन्।
आयोगको कामकारबाहीलाई सशक्त रुपमा अघि बढाउन अब उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा आफूले काम गर्ने उहाँले बताए। आयोगको सदस्यका रुपमा यसअघि नै डा रामकुमार फुँयाल, डा जयकान्त राउत, प्रा डा आरपी विच्छा र डा रमेशचन्द्र पौडेलले जिम्बेवारी सम्हालिसक्नुभएको छ।
को हुन् बुढाथोकी?
बुढाथोकी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा लामो अनुभव भएको व्यक्ति हुनुहुन्छ। रणनीतिक योजना तथा व्यवस्थापन तथा प्राकृतिक स्रोत व्यवस्थापनका विज्ञ बुढाथोकीले बेलायतको ‘रिसोर्स गभर्नेस’मा विद्यावारिधि गर्नुभएको छ। त्रिभुवन विश्वविद्यालयबाट तथ्याङ्कशास्त्रमा स्नातक गर्नुभएका बुढाथोकीले भारत र बेलायतबाट छुट्टाछुट्टै विषयमा स्नात्तकोत्तर गर्नुभएको छ।
नेपाल बाहेक बुढाथोकीसँग इरान, बेलायत, बङ्गलादेशजस्ता मुलुकमा काम गरेको अनुभवसमेत छ। बुढाथोकीसित त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनको अनुभवका साथै युएनडिपी, युएसआईडी, युनेस्को जस्ता संस्थामा काम गरेको अनुभवसमेत छ।












