वरिष्ठ पत्रकार राजेन्द्र दाहाल, बलराम थापालगायत पुरस्कृत
आठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार मन्त्री रेखा शर्माद्वारा वरिष्ठ पत्रकार सम्मानबाट पत्रकार राजेन्द्र दाहाल र बलराम थापा सम्मानित भएका हुन्।
काठमाडाैं, वैशाख २४ : सरकारले राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा वरिष्ठ पत्रकार राजेन्द्र दाहाल र बलराम थापालाई सम्मान गरेको छ ।
आठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार मन्त्री रेखा शर्माद्वारा वरिष्ठ पत्रकार सम्मानबाट पत्रकार राजेन्द्र दाहाल र बलराम थापा सम्मानित भएका हुन्।
राष्ट्रिय पत्रकारिता पुरस्कारबाट अन्य छ जना पत्रकारसमेत सम्मानित हुनुभएको छ। सम्मानित हुनेमा पत्रकार अनिता विन्दु, अम्बिका दाहाल, गणेश लम्साल, गम्भीरा सहनी, रामकृष्ण ज्ञवाली र लक्ष्मी आचार्य हुनुहुन्छ।
मन्त्रालयले निष्पक्ष, उत्तरदायी, खोजमूलक र विश्लेषनात्मक पत्रकारिताको माध्यमबाट राष्ट्रिय हितको प्रवर्धन र जनतालाई सुसूचित गराउन योगदान पु¥याएको भन्दै उनीहरुलाई सम्मान गरेको हो।
पुस्कृत पत्रकार राजेन्द्र दाहालले आमसञ्चार तथा पत्रकारितासम्बन्धी अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने संस्थाको स्थापना गर्न सरकारको ध्यानआर्कषण गराए। उनले भने, 'लोकतन्त्रको संरक्षण र सफलताका लागि राम्रो पत्रकारिता जरुरी छ। त्यसका लागि अहिले आमसञ्चारसम्बन्धी अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने भरपर्दो संस्थाको खाँचो छ।'
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले आमसञ्चार तथा पत्रकारितामा आवश्यक लगानी र नीति बनाउनतर्फ सरकारको ध्यानआर्कषण गराए।
वरिष्ठ पत्रकारबाट सम्मानित हुनेलाई कदरपत्रसहित रु दुई लाख र राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृतलाई कदरपत्रसहित रु एक लाख प्रदान गरिएको छ।












