Kathmandu Press

शीतलको ‘सिन्का पाउँरु’माथि विमर्श

काठमाडौंमा भएको विमर्शमा उपन्यास कृतिका पात्रहरूले आफ्नो पहिचानका लागि गरेको संघर्षसँगै समग्र कृतिले सांस्कृतिक पहिचानलाई उठान गरेको विषयमा विमर्श गरिएको हो।
शीतलको ‘सिन्का पाउँरु’माथि विमर्श

काठमाडौं, वैशाख २३ : गीत तथा गजलका स्थापित हस्ताक्षर शीतल कादम्बिनीको पहिलो उपन्यास कृति ‘सिन्का पाउँरु’माथि विमर्श भएको छ।

काठमाडौंमा भएको विमर्शमा उपन्यास कृतिका पात्रहरूले आफ्नो पहिचानका लागि गरेको संघर्षसँगै समग्र कृतिले सांस्कृतिक पहिचानलाई उठान गरेको विषयमा विमर्श गरिएको हो।

आदिवासी आन्दोलनका अगुवा राष्ट्रियसभा सदस्य सुरेश आलेमगरले उपन्यासले गुरुङ समुदायको संस्कृति, संस्कार, परम्पराका विषयलाई राम्ररी उठान गरे पनि पहिचानका लागि भइरहेको संघर्षलाई समेट्न नसकेको बताए।

Hardik ivf

राष्ट्रिय महिला आयोगका पूर्वसदस्य धनकुमारी सुनारले उपन्यास पितृसत्तात्मक सोंचबाट उत्पीडित महिलाको कथा रहेको भन्दै उपन्यासका मुख्य पात्र मौसमी विद्रोही हुन नसकेको बताइन् ।

गुरुङ समुदायमा महिला सशक्त हुने गरेको अनुभव सुनाउँदै उनले भनिन्, ‘मौसमीले कतिबेला सशक्त विद्रोह गर्छिन् भनेर पर्खिएको भए पनि अन्त्यमा शालीन विद्रोह मात्र गरिन् । जुन मेरो अपेक्षासँग मेल खाएन।’

मुक्तककार रामकाजी कोनेले ‘सिन्का पाउँरु’ले नेपाली भाषामा गुरुङ भाषाका ४६ शब्द थपेर नेपाली भाषालाई नै धनी बनाएको बताए । उपन्यासमा गुरुङ संस्कृति र परम्परा कहीँकहीँ आफूले भोगेको र सुनेकोभन्दा केही फरक पाएको भए पनि आञ्चलिकता राम्ररी आएको बताए।

त्यसैगरी मानवशास्त्री डा. टेकबहादुर गुरुङले सांस्कृतिक परिवर्तन, विकास र विचलनलाई उपन्यासले अत्यन्तै मिहीन ढंगले चित्रण गरेको बताए । कृतिकार शीतल कादम्बिनीले उपन्यासमा उल्लिखित कालखण्ड १९९० देखि २०४० सालबीचको रहेको भन्दै त्योबेला पहिचानको आन्दोलन उठान भइनसकेको अवस्था भएकाले उपन्यासमा पहिचानको विषय उठान नभएको बताइन्।

गुरुङ समुदायमा श्रीमान्–श्रीमती सँगै बस्न नसक्ने अवस्था सिर्जना भएमा पारपाचुके गर्दा ‘सिन्का पाउँरु’ गर्ने चलन छ । सिन्का पाउँरु गर्दा गाउँका भद्रभलाद्मी तथा केटा र केटी पक्षका सीमित मानिस बसेर छलफलपछि सिन्का भाँच्ने र पाङ्ग्रो फुटाउने कार्य सम्पन्न भएपछि दुबै जनाको सम्बन्ध सकिएर दाजु–बहिनीको सम्बन्धमा रहने वाचा गराइन्छ।

 

प्रकाशित मिति: २१:३२ बजे, शनिबार, वैशाख २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्