Kathmandu Press

हेटौंडाबाट सुरु भयो नेपथ्य संगीत यात्रा

केही समययता ब्याण्डले नियमित प्रस्तुत गर्दैआएको गीतक्रममा परिवर्तन गर्दै ‘हो रामा रामा’ बाट कन्सर्टको थालनी गरिएको थियो। अघिल्ला प्रस्तुतिहरुमा मध्यक्रममा रहने गरेको यो गीतले सुरुदेखि नै मैदानलाई गतिशील तुल्याएको देखिन्थ्यो। त्यसपछि ‘भेँडाको ऊन’ र ‘छेक्यो छेक्यो’ हुँदै कन्सर्ट अघि बढेको थियो।
हेटौंडाबाट सुरु भयो नेपथ्य संगीत यात्रा

हेटौंडा, माघ २२ : लोकरक ब्याण्ड नेपथ्यले यो वर्षको नेपाल यात्रालाई हेटौंडाबाट भव्यतापूर्वक अघि बढाएको छ। यात्राको पहिलो ध्वनि बुधबार बेलुकी यहाँस्थित भुटनदेवी विद्यालयको मैदानमा गुञ्जिँदा हजारौंको संख्यामा उपस्थित दर्शक श्रोताले उत्साहका साथ नाचेर सहभागिता जनाएका थिए।

केही समययता ब्याण्डले नियमित प्रस्तुत गर्दैआएको गीतक्रममा परिवर्तन गर्दै ‘हो रामा रामा’ बाट कन्सर्टको थालनी गरिएको थियो। अघिल्ला प्रस्तुतिहरुमा मध्यक्रममा रहने गरेको यो गीतले सुरुदेखि नै मैदानलाई गतिशील तुल्याएको देखिन्थ्यो। त्यसपछि ‘भेँडाको ऊन’ र ‘छेक्यो छेक्यो’ हुँदै कन्सर्ट अघि बढेको थियो।

कार्यक्रमस्थलमा दर्शकहरुको अग्रपंक्तिमै रहेकी मान्यता सापकोटा यस्तो सांगीतिक कार्यक्रमले सहरै रमाइलो पार्ने बताइरहेकी थिइन्। उनका अनुसार नेपथ्यको कन्सर्ट चाहिँ छुटाउने गरेकी छैनन्।

Hardik ivf

‘चार वर्षअघि हेटौंडामा नेपथ्य उपस्थित हुँदा म बुवाको साथ आएकी थिएँ,’ स्थानीय कृष्णमन्दिर छेवैमा घर भएकी स्नातक प्रथम वर्षकी विद्यार्थी मान्यताले भनिन्, ‘त्यतिबेला ढिलो आएकोले धेरै गीत छुटेकै कारण यसपाला समयमै मैदानमा प्रवेश गरेँ र अगाडिकै लहरमा ठाउँ पाएँ।’

साथी श्रीना ढुंगेल र बहिनीहरुलाई पनि साथमा लिएर आएकी मान्यता कन्सर्टमा सुरुदेखि अन्तिमसम्मै नृत्यरत देखिन्थिन्।

03-Nepthya-performing-in-Hetauda.-Photo---Dipit-Raz-1770298914.jpg

यसरी नाच्नेहरुको लहर बढ्दै गएर मैदानको अन्तिम घेरामा बर्दीसहित खटिएका प्रहरीहरुमा समेत विस्तार भइरहेको देखिन्थ्यो। तिनैमध्ये महिला प्रहरीहरुको टोलीलाई कमाण्ड गरिरहेकी लालुमाया गुरुङ पनि थिइन्।

जिल्ला प्रहरी कार्यालयकी हवल्दार उनलाई नजिकै गएर ‘निकै रमाउनु भएको देखियो त?’ भनेर प्रश्न गर्दा एकछिन अकमकिइन्।

उनले प्रतिप्रश्न गर्दै भनिन्, ‘हामी मानिस हौं र हाम्रो मन पनि यस्तो बेलामा रमाउँछ नि !’

यस्ता कार्यक्रमहरुमा सुरक्षार्थ धेरैपटक खटिसकेको बताउने लालुमायाले अमृत गुरुङ आफूलाई सबैभन्दा मनपर्ने गायक रहेको जानकारी दिइन्।

‘आफू गुरुङ भएकैले भनेको होइन है,’ उनले अन्यथा अर्थ नलागोस् भन्दै प्रष्ट पारिन्, ‘म त धेरै पर सुर्खेतको मान्छे पो हुँ।’

यता कार्यक्रमले ‘लामपाते सुरती’ पछि पनि पुरानै गीतहरु ‘चरी म¥यो’ र ‘जोमसोमे बजारमा’बाट निरन्तरता पाइरहेको थियो। त्यसपछिको क्रममा दर्शकहरुलाई स्वदेश घुम्ने सल्लाह दिँदै अमृतले धौलागिरितिर आफूले यात्रा गर्दा तयार पारेको गीत सुनाए:

‘शिरफूल शिरैमा वनफूल वनैमा
हिउँको फूल धौलासिरिमा’

उनले कर्णाली भेगको दुःख र त्यसकै बीच पनि सन्तोष मानेर बाँचिरहेका बासिन्दाको खुशी अनुभव गर्न त्यसतर्फको यात्रा पनि जरुरी रहेको औंल्याउँदै भर्खरै तयार पारेको गीत ‘कर्नालीका छाइला’ पनि सुनाए।

‘यो संसारमा थोरै राम्रा मानिसको मानवीयताले गर्दा धेरै मानिसले बाँच्ने मौका पाइरहेका छन्,’ अमृतले दर्शकहरुलाई अनुरोध गर्दै भने, ‘तपाईंहरुको छेउछाउमा स्कुल जान नपाएका बालबालिका छन् भने उनीहरुलाई शिक्षाको उज्यालोसम्म नजिक्याएर पुण्य कमाउन नछुटाउनुस् है।’ 

01-Nepathya-performing-to-a-houseful-audience-in-Hetauda.-Photo---Dipit-Raz-1770298915.jpg

यसै क्रममा ब्याण्डको अर्को सर्वकालिक हिट गीत ‘यो जिन्दगानी’ गाइएको थियो।

कन्सर्ट अघि बढ्दै जाँदा ‘गाउँ गाउँबाट उठ’ को पालो आइपुग्यो। अमृतले मञ्चबाट यो गीत गाइरहँदा हेटौंडाको भुटनदेवी स्कुल मैदानमा भरिएका अधिकांश दर्शकहरुले पनि गाएरै साथ दिइरहेको रोचक दृश्य देखिन्थ्यो।

त्यो उत्साहलाई समात्दै गीतको बीचैमा गायक अमृतले बोल्न पनि थाले, ‘यसपाला चुनावमा कसैको पनि लोभ वा डर नमानेर मुलुकका लागि असल नेतृत्वको चयन गर्नु तपाईं हामी सबैको कर्तव्य हो।’ अमृतले निर्वाचनमा सहभागि हुन गरेको अपीललाई सबैले ताली बजाएर स्वीकारेका थिए।
धुनकै क्रममा गायकबाट आएको यो आव्हानले नृत्यरत दर्शकमा अझ उत्साह थपेको थियो।

कार्यक्रमको अन्त्यतिर ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो।

04-Nepathya-performing-in-Hetauda-as-part-of-their-Nepal-Tour-in-February.-Photo---Dipit-Raz-1770298913.jpg
 

‘हेटौंडाले फेरि एकपटक आफूलाई नेपथ्यप्रेमी साबित गरेको छ,’ आयोजक समूह रमाइलो इभेन्ट्सका शिवम् शर्मा भन्दै थिए, ‘कार्यक्रम भव्य मात्र नभई व्यवस्थित तवरले सम्पन्न गर्न पाएकोमा सबैलाई धन्यवाद दिन्छौं।’

गायक अमृतले आफूलाई सघाउने साथीहरु ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीको परिचय गराएका थिए।

हेटौंडाको कन्सर्ट सम्पन्न भएपछि नेपथ्य टोली बुटवल हिँडिसकेको छ। त्यहाँस्थित ‘बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र रामनगर’ परिसरमा माघ २४ गते शनिबार ब्याण्डको प्रस्तुति रहनेछ। त्यसपछिको यात्रा क्रमशः नारायणघाट र बन्दीपुर तर्फको हुनेछ।

दर्शक सुविधालाई ध्यानमा राख्दै सबैजसो कन्सर्टहरुको अनलाइनबाटै सोझै टिकट काट्न सकिन्छ।

प्रकाशित मिति: १९:२८ बजे, बिहीबार, माघ २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्