Kathmandu Press

वीरगञ्जको आदर्शनगरमा सुरक्षाकर्मी र व्यापारीबीच झडप : एक सशस्त्र प्रहरी घाइते, गोदाममा छापा

ढुङ्गा प्रहारबाट सशस्त्र प्रहरीले प्रयोग गर्ने गाडीको अगाडिको सिसा फुटेको छ भने एकजना सुरक्षाकर्मी घाइते भएका छन्। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घटनापछि आदर्शनगर क्षेत्रमा सुरक्षा सतर्कता निकै बढाइएको छ।
वीरगञ्जको आदर्शनगरमा सुरक्षाकर्मी र व्यापारीबीच झडप : एक सशस्त्र प्रहरी घाइते, गोदाममा छापा

पर्सा, माघ २६ : वीरगञ्ज महानगरपालिकाको मुख्य व्यापारिक केन्द्र आदर्शनगरस्थित एक गोदाममा राजस्व छलीको आशंकामा छापा मार्न पुगेको संयुक्त टोलीसँग स्थानीय व्यापारीहरूको झडप भएको छ।

सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको टोलीले छापा मार्ने क्रममा स्थिति तनावग्रस्त बनेपछि भएको झडपमा एकजना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन्।

Hardik ivf

सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल, वीरगञ्ज भन्सारका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विकास अधिकारीका अनुसार विशेष सूचनाका आधारमा संयुक्त टोली आदर्शनगरस्थित एक गोदाममा पुगेको थियो । टोलीले खानतलासी सुरु गर्न लाग्दा स्थानीय व्यापारीहरूले विरोध जनाएपछि विवाद सुरु भएको थियो।

व्यापारीहरूले आफूहरूसँग सामानको वैध बिलबिजक रहेको दाबी गर्दै विनाकारण दुख दिइएको आरोप लगाएका छन्। बिल देखाउँदा पनि सामान नियन्त्रणमा लिन खोजेपछि आक्रोशित भीडले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेको सशस्त्र प्रहरीको भनाइ छ।

ढुङ्गा प्रहारबाट सशस्त्र प्रहरीले प्रयोग गर्ने गाडीको अगाडिको सिसा फुटेको छ भने एकजना सुरक्षाकर्मी घाइते भएका छन्। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घटनापछि आदर्शनगर क्षेत्रमा सुरक्षा सतर्कता निकै बढाइएको छ।

सशस्त्र प्रहरीले उक्त गोदामबाट ठूलो परिमाणमा सामान नियन्त्रणमा लिएको छ। यद्यपि, बरामद सामानको विस्तृत विवरण र परिमाण भने सार्वजनिक गरिएको छैन।

‘हाल सामानको लगत संकलन र मुचुल्का उठाउने कार्य भइरहेको छ। गोदाम कसको हो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ,’ नायब उपरीक्षक अधिकारीले जानकारी दिए। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक मोहन केसीले घटनाको थप अनुसन्धान भइरहेको बताए।

यता, आदर्शनगरका व्यापारीहरूले भने राज्यले वैध व्यवसाय गर्नेहरूलाई पनि तस्कर सरह व्यवहार गरेको भन्दै कडा असन्तुष्टि व्यक्त गरेका छन्।

प्रकाशित मिति: १४:४९ बजे, सोमबार, माघ २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्