Kathmandu Press

आठ वर्षमा मरे २२० गैँडा

आठ वर्षमा मरे २२० गैँडा

चितवन, वैशाख २१ : विगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन्। आर्थिक वर्ष २०७२/७३ देखि हालसम्ममा ती गैंडा मरेका हुन्।

निकुञ्जका अनुसार ६४ गैंडा बुढो भएर र भिरबाट लडेर मरेका छन् भने १९ गैंडा दलदलमा फसेर र बाढीले बगाएर मरेका हुन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आपसमा जुधेर आठ वर्षको समयमा ५१ गैंडा मरेका छन्।

Hardik ivf

यस्तै बाघको आक्रमणबाट २०, चोरी शिकारीबाट नौ, करेन्ट लागेर आठ, बिरामी तथा रोगी भएर १२, खाडलमा परी तीन, विष सेवनले पाँच तथा कारण नखुलेका २९ गैँडा रहेको उनले जानकारी दिए।

तिवारीका अनुसार विगत आठ वर्षमा १ सय भाले र ७६ पोथी गैंडा मरेका छन् भने लिङ्ग पहिचान नभएका ४४ गैंडा मरेका छन्। आर्थिक वर्ष २०७२÷७३ देखि यता निकुञ्जमा सबैभन्दा बढी गैंडा आव २०७५/७६ मा मरेको कार्यालयको तथ्याकले देखाएको छ। सो आवमा ४३ गैँडा मरेका थिए।

सबैभन्दा कम  आव २०७२/७३ मा १४ गैंडा मरेका छन्। तिवारीका अनुसार आव २०७३/७४ मा २५, आव २०७४/७५ मा २६, आव २०७६/७७ मा २६, आव २०७७/७८ मा ३३ र आव २०७८/७९ मा ३७ गैंडा मरेका छन्। चालु आवको हालसम्म १६ गैंडा मृतावस्थामा भेटिएको उनले जानकारी दिए।

निकुञ्जको तथ्यांङ्कअनुसार आव २०६५/६६ देखि आव २०७९/८० सम्म ३२३ गैँडा मरेका छन्। निकुञ्जमा गैँडाको सङ्ख्या बढ्दै जाँदा आपसमा जुधेर र बूढो भएर मर्नेको सङ्ख्या धेरै रहेको तिवारीले बताए। गैँडाको चरनका लागि निकुञ्जले घाँसेमैदान व्यवस्थापन र पानीको संरक्षणमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिए।

प्रकाशित मिति: १०:२० बजे, बिहीबार, वैशाख २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्