संसद्मा प्रधानमन्त्रीको सम्बोधन, 'एमसीसीजस्तो कुरा पारित गर्नुपर्नेछ, समय खेर नफालौं'
काठमाडौं, माघ १४ : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई सम्बोधन गरेका छन्। उनले मंगलबार नव निर्वाचित सभामुख अग्नि सापकोटालाई शुभकामना दिँदै अ....

काठमाडौं, माघ १४ : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई सम्बोधन गरेका छन्। उनले मंगलबार नव निर्वाचित सभामुख अग्नि सापकोटालाई शुभकामना दिँदै अब समय खेर नफालेर काम गर्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री ओलीले भने, ‘ससाना कुरामा अल्झिने, अनावश्यक बहसमा अल्झिने काम गर्नुहुन्न।’ उनले केही समय विलम्ब भएको उल्लेख गर्दै अब एकताबद्ध भएर लाग्नु पर्ने बताए।
‘थुप्रै विधेयक पारित गर्नुपर्नेछ। प्रस्ताव पारित गर्नुपर्नेछ, एमसीसीजस्तो कुरा पारित गर्नुपर्नेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘अलिकति विलम्ब भइसकेको छौं। अब विलम्ब गर्नुहुन्न। समय खेर नफालौं।’
उनले आजको समय आइडोलजिकल मतभेदमा अल्झिनु नहुने बताए। ‘आजको समय आइडोलजिकल मतभेदमा अल्झिने र ति मतभेदले सत्यलाई ढाक्ने, सत्यभन्दा माथि ठान्ने। संलग्नतालाई महत्वपूर्ण ठान्ने र सत्यलाई कम आंक्ने समय छैन,’ उनले भने, ‘दुनियाँ तिव्रगतिमा अगाडि बढेको छ। यो तिव्रगतिमा अगाडि बढेको दुनियाको गतिलाई हामीले पक्रिन सकेनौं भने हामीले समय खेर फालेको हुन्छ। ’
उनले विकासको गतिलाई समात्नु पर्ने बताए। ‘विकासको गतिलाई समाउन सकौं। यसको कामको नेतृत्व अहिलेको सरकारले गर्छ,’ प्रधानमन्त्री ओलीले भने।
उनले समसायिक राजनीतिक र विकासका मुद्दामा अर्को पटक आफ्नो विचार राख्ने बताए।











