चेन्नईलाई हराउँदै राजस्थान शीर्ष स्थानमा
बिहीबार राति जयपुरमा भएको खेलमा चेन्नई सुपरकिंग्सलाई ३२ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा उक्लिएको हो।
काठमाडाैं, वैशाख १५ : राजस्थान रोयल्स आईपिएलको शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार राति जयपुरमा भएको खेलमा चेन्नई सुपरकिंग्सलाई ३२ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा उक्लिएको हो।
आठ खेलमा पाँच खेल जितेको राजस्थान १० अंकसहित शीर्ष स्थानमा छ। समान खेलमा ५ जित नै निकालेको चेन्नई तेस्रो स्थानमा छ।
जयपुरमा राजस्थानले दिएको २०३ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो। उसका लागि शिभम दुवेले ३३ बलमा २ चौका र ४ छक्काको सहयोगमा ५२ रन बनाए।
यस्तै, ओपनर ऋतुराज गायकवाडले २९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४७ रन बनाने भने मोइन अलीले १२ बलमा २३ रन बनाए। यस्तै, रविन्द्र जडेजाले २३ र अजिन्का रहाणेले १५ रनको योगदान दिए।
राजस्थानका लागि एडम जाम्पाले ३ तथा रविचन्द्रन अश्विनले २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले ५ विकेट गुमाएर २०२ रन बनायो। यो जयपुरमा बनेको आईपिएलको सर्वाधिक रन हो।
उसका लागि ओपनर यशस्वी जैसवालले ४३ बलमा ८ चौका र ४ छक्काको सहयोगमा ७७ रन बनाए। यस्तै, जोस बटलरले २१ बलमा ४ चौकाको सहयोगमा २७ रन बनाए। पहिलो विकेटका लागि जैसवाल र बटलरले ५० बलमा ८६ रनको साझेदारी गरे ।
यस्तै, धुव्र जुरेलले १५ बलमा ३४ रन बनाउँदा देवदत्त पडिकल २३ रनमा अविजित रहे। कप्तान सन्जु सामसनले १७ बलमा १७ रन बनाए। चेन्नाईका लागि तुसारदेश पान्डेले २ तथा रविन्द्र जडेजा र महेश थिक्सनाले समान १ विकेट लिए।












