बैतडीका ७९ वन डढेलोको जोखिममा
डिभिजन वन कार्यालयकाअनुसार सबैभन्दा बढी ३० पाटन सब डिभिजन वन कार्यालयअन्तर्गत वन रहेका छन्।
बैतडी, वैशाख १३ : गर्मीयाम सुरु भएसँगै बैतडीमा पनि वन डढेलोको जोखिम बढ्दै गएको छ। यहाँ रहेका ७९ वन डढेलोको जोखिममा समेत छन्।
डिभिजन वन कार्यालयकाअनुसार सबैभन्दा बढी ३० पाटन सब डिभिजन वन कार्यालयअन्तर्गत वन रहेका छन्। यस्तै मालिका पाटन सव डिभिजन वन कार्यालय र हाटपाटन सव डिभिजन वन कार्यालय अन्तगतका १३/१३ वटा वन डढेलोको जोखिममा रहेका डिभिजन वन कार्यालय प्रमुख भीमप्रसाद कँडेलले जानकारी दिनुभयो। यसका साथै मेलौली-कुलाउ सब डिभिजन वन कार्यालय अन्तर्गतका ११, सिगास सव डिभिजन वन कार्यालय अन्तर्गतका ८,रुद्रेश्वर–देउलेक सब डिभिजन वन कार्यालय अन्तर्गतका ४ वन जोखिममा रहेका हुन्।
यसअघि डढेलो लागेका र बस्तीनजिक रहेका वन जोखिममा राखिएका हुन्। जिल्लामा हालसम्म डढेलो लागेको घटना नरहेका प्रमुख कँडेलले बताए। उनले भने, 'डढेलोको जोखिममा वन रहेका भए पनि यो वर्ष भने फाट्टफुट्टबाहेक डढेलो लागेको खबर खासै खबर आएको छैन्।' गर्मीयाम सुरु भएसँगै मानवीय लापरबाहीका कारण डढेलोको जोखिम बढी हुने गरेको छ। प्राकृतिक र मानवीय दुवै कारणले वन डढेलो हुने गरेकोमा प्राकृतिक ५ प्रतिशत र मानवीय ९५ प्रतिशतले डढेलो हुने गरेको छ। बैतडीमा सबै प्रकारका वन डढेलो लाग्ने गरेका छन्।
घर्षने, भुइँ, सतही र छत्र डढेलोमध्य खतरनाक चाही छत्र डढेलो र यहाँ बढी मात्रामा सतही डढेलो लाग्ने गर्दछ। डढेलोबारे वन कार्यालयले सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिरहेको छ। डढेलोले जनस्वास्थ्य क्षेत्रमा सङ्कट ल्याउनुका साथै मानवीय र धनजनको क्षति पनि गर्ने भएकोले सबैले सचेत रहन आग्रह गरिएको छ। बैतडीमा विशेषगरी फागुनदेखि जेठसम्म डढेलो लाग्ने गरेको जनाएको छ।
यहाँ तीन सय ६४ सामुदायिक वन, एक सय ७४ कबुलियती, प्रस्तावित संरक्षित क्षेत्र २, निजी वन ३, वैज्ञानिक वन व्यवस्थापन ३ क्षेत्र रहेका छन्। कूल क्षेत्रफल एक लाख ४८ हजार छ सय ७८ हेक्टर क्षेत्रफल रहेको बैतडीमा ८५ हजार सात सय ६८ हेक्टर वन क्षेत्र रहेको छ।












-(86)-1764936079.jpg)