थ्रीस्टारलाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा
काठमाडौं, माघ १३ : नेपाली राष्ट्रिय टिमका स्टार खेलाडीहरुलाई भित्र्याउँदै पहिलो पटक लिग च्याम्पियन बन्ने लक्ष्य बनाएको मच्छिन्द्र क्लब सहिद स्मारक एक ....

काठमाडौं, माघ १३ : नेपाली राष्ट्रिय टिमका स्टार खेलाडीहरुलाई भित्र्याउँदै पहिलो पटक लिग च्याम्पियन बन्ने लक्ष्य बनाएको मच्छिन्द्र क्लब सहिद स्मारक एक डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।
लिगको नवौं चरणमा अर्को उपाधि दाबेदार टिम थ्रीस्टारलाई २–० ले हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा उक्लिएको हो। जितसँगै मच्छिन्द्रले ९ खेलमा ६ जित, २ बराबरी र १ हारका साथ १९ अंक जोडेको छ।
अघिल्लो सिजन लिग १३ औं स्थानमा सकाएकाले मच्छिन्द्रको यसपटक १ अंक घटाइएको छ। ८ खेलमा १७ अंक जोडेको त्रिभुनव आर्मी क्लब दोस्रो स्थानमा छ भने १६ अंक जोडेको मनाङ मर्स्याङ्दी तेस्रो स्थानमा छ। थ्रीस्टार १४ अंकका साथ चौथो स्थानमै यथावत छ।
सोमबार दशरथ रंगशालामा भएको दोस्रो खेलमा मच्छिन्द्रलाई जित दिलाउने क्रममा रेजिन सुब्बा र विशाल राईले समान एक–एक गोल गरे। खेलको दुवै हाफमा मन्छिन्द्रले गोल गरेको थियो।
दीपक राईलाई रिप्लेस गर्दै २८ औं मिनेटमा मैदान छिरेको रेजिनले १० मिनेट नबित्दै मच्छिन्द्रलाई सुरुवाती अग्रता दिलाए। ३८ औं मिनेटमा रेजिनले रञ्जित धिमालको पासमा गोल गरेका थिए। लगत्तै विशाल राईको फ्रिकिक रेजिनको फ्लिक हेडिङ किपर बिट भएको अवस्थामा थ्री स्टारका कप्तान विक्रम लिम्बुले गोललाइनबाट क्लियर गरेका थिए।
निर्धारित समयको अन्तिम मिनेटमा काउन्टर अट्याक्समा विशाल राईले गोल गरेपछि मच्छिन्द्र २–० ले विजयी भयो। उनले सुजल श्रेष्ठले दिएको पासमा एडलाज सेमेडोको फितलो प्रहार थ्रीस्टारको डिफेन्डरले क्लियर गरेको बलमा विशालले गोल गरेका थिए।
प्रतियोगिता अन्तर्गत मंगलबार हिमालयन शेर्पाले सरस्वती युथ क्लबको सामाना गर्नेछ भने अर्को खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने छन्।











