सभामुख सापकोटा र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौं, माघ १३ : सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीबीच शिष्टाचार भेट भएको छ।
सभामुखको कार्यकक्ष सिं....

काठमाडौं, माघ १३ : सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीबीच शिष्टाचार भेट भएको छ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा सोमबार दिउँसो भएको शिष्टाचार भेटमा राजदूत हउ यान्छीले चिनियाँ जनकंग्रेस (संसद) का अध्यक्ष ली झान्सुले पठाएको लिखित बधाई तथा शुभकामना सन्देश सभामुख सापकोटालाई प्रदान गरेकी थिइन्।
भेटमा शुभकामनाका लागि धन्यवाद दिँदै सभामुख सापकोटाले नेपाल र चीनबीचको सरकार-सरकार, जनस्तर र संसदबीचको सम्बन्ध भोलिका दिनमा अझै प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए। विगतमा पनि नेपालको संसद र चिनियाँ जनकंग्रेसका बीचमा सम्बन्ध रहीआएको प्रसंग उल्लेख ग गर्दै सभामुख सापकोटाले दुवै देशका संसदीय मैत्री समूहका माध्यमबाट सम्बन्ध अझै बिस्तार गर्ने विश्वास दिलाए।
सभामुख सापकोटाले चीनमा पछिल्लो समय फैलिएको कोरोना भाइरस र त्यसलाई नियन्त्रणमा लिन राष्ट्रपति सी जिनफिङसहित चीन सरकारले गरेको प्रयासको सराहना गर्दै नेपाल पनि यस सन्दर्भमा चीनको साथमा रहेको बताए।
राजदूत हउ यान्छीले चिनियाँ जनकंग्रेसका अध्यक्षका तर्फबाट सभामुख सापकोटालाई चीन भ्रमणको निम्तो दिएकी थिइन्। सभामुखको कार्यकाल सफलताको शुभकामना तथा बधाई दिँदै शपथ ग्रहण गरेको तीन घण्टाभित्रै शिष्टाचार भेटका लागि समय दिएकोमा राजदूत हउ यान्छीले सभामुख सापकोटालाई धन्यवाद दिएकी थिइन्।
राजदूतले यान्छीले दुई देशका संसदबीचमा सम्बन्ध बिस्तार गर्न आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको सभामुखको निजी सचिवालयले जनाएको छ।











