Kathmandu Press

विभागीय डर्बीमा पुलिस विजयी

काठमाडौं, माघ १३ : शहीद स्मारक एक डिभिजन लिगको विभागीय ‘डर्बी’ अर्थात् नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफबीच भएको भिडन्तमा पुलिस....

विभागीय डर्बीमा पुलिस विजयी

काठमाडौं, माघ १३ : शहीद स्मारक एक डिभिजन लिगको विभागीय ‘डर्बी’ अर्थात् नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफबीच भएको भिडन्तमा पुलिस क्लबले बाजी मारेको छ। दशरथ रंगशालामा भएको लिगको नवाैं चरणको पहिलो खेलमा जित निकाल्ने क्रममा पुलिसले एपिएफलाई १–० ले हरायो।

विभागीय डर्बीमा पुलिसलाई जित दिलाउन भेट्रान खेलाडी भोला सिलवालले निर्णायक गोल गरे। भोलाले १३औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए।
भरत शाहलाई एपिएफका खेलाडीले डिबक्समा फाउल गरेपछि पुलिसले पेनाल्टी पाएको थियो। सोही अवसरमा भोलाले गोल गरे।

प्रतिस्पर्धात्मक खेलमा त्यसपछि कुनै गोल हुन नसक्दा भोलाको त्यही गोल निर्णायक बन्यो। खेल सकिएपछि रेफ्रिलाई अभद्र व्यवहार गर्दा एपिएफका डिफेन्डर सुदीप शिख्राकारले रातो कार्ड पाए।

जितपछि १४ अंक जोड्दै नेपाल पुलिस क्लब पाँचौं स्थानमा उक्लिएको छ । उसले ८ खेलमा चार जित, दुई बराबरी र दुई हारको सामाना गरेको छ।

एपिएफ भने ५ अंकका साथ १३औं स्थानमा छ। १७ अंक जोडेको त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा छ भने समान १६ अंक जोडेका मच्छिन्द्र र मनाङ मस्र्याङ्दी क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

 

प्रकाशित मिति: १५:०३ बजे, सोमबार, माघ १३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्