Kathmandu Press

यस्ताे छ जुरेसदेखि अन्तर्राष्ट्रिय रेडक्रस प्रमुखसम्मकाे नेपाली समाजसेवीकाे यात्रा

काठमाडौं, माघ १३ : ‘मलम लगाऊ आर्तहरुको, चहराइरहेको घाउ...।’ महाकवि देवकोटाका रचना सुनाउँदै जगन चापागाईंले भने, ‘यहीभित्र छ, मेरो जीव....

यस्ताे छ जुरेसदेखि अन्तर्राष्ट्रिय रेडक्रस प्रमुखसम्मकाे नेपाली समाजसेवीकाे यात्रा

काठमाडौं, माघ १३ : ‘मलम लगाऊ आर्तहरुको, चहराइरहेको घाउ...।’ महाकवि देवकोटाका रचना सुनाउँदै जगन चापागाईंले भने, ‘यहीभित्र छ, मेरो जीवन। संसारिक सुख।’

हँसिलो स्वाभाव, खाइलाग्दो शरीर। हेर्दा लाग्छ– उनी भर्खरको तन्नेरी हुन। उनी ५२ वर्षका भए। उनमा रहेको अथाह विद्वताले नयाँ इतिहास रचना मात्र गरिदिएको छैन, वीर मात्र होइनन् नेपाली ‘बौद्धिक’ हुन भन्ने सन्देश पनि प्रवाह गरेको छ। मानवीय सेवाका क्षेत्रमा खारिएको तीन दशकको अनुभवले उनलाई मात्र होइन, नेपाललाई पनि संसारसँग परिचित गराएको छ।   

आपत्कालीन मानवीय सेवामा तल्लीन परोपकारी सस्था रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)को सर्वोच्च पद ‘महासचिव’को जिम्मेवारी उनले यही माघ १८ गतेदेखि सम्हाल्दै छन्। विश्वका १९२ देशका रेडक्रस महासङ्घमा आबद्ध छन्। हाल महासङ्घको उपमहासचिव पदमा कार्यरत उनी अब महासचिव पद सम्हाल्ने दक्षिण एशियाली क्षेत्रको पहिलो व्यक्तित्व हुनेछन्।

युद्धका पीडाले छट्पटाइ रहेकालाई मानवीय सेवा स्वःस्फुर्त प्रदान गर्न हेनरी ड्युनाले सन् १८६३ मा रेडक्रस स्थापना गरेका थिए। युद्ध र युद्धका परिणाम, प्राकृतिक तथा मानवसिर्जित विपद्, विपद्ले सिर्जना गरेका असर, गरिबी, भोकमरी, विषमता न्यूनीकरण, सङ्कटासन्न समुदायलाई उत्थानशील बनाउनेलगायतका क्षेत्रमा महासङ्घले मानवीय सहायता प्रदान गर्छ।

सात लाखभन्दा बढी कर्मचारी र झण्डै दुई करोड स्वयंसेवकको माध्यमबाट करिब एक अर्ब जनसङ्ख्यामा वर्षेनी मानवीय सहायता महासङ्घले पु¥याएको जनाइएको छ।   

महासङ्घमा ‘महासचिव पद’लाई सर्वोच्च मानिन्छ। चार वर्षको कार्यकाल हुन्छ। ‘गभर्निङ बोर्ड’ले चाहेमा अर्को कार्यकाल थप गर्न सक्ने प्रावधान रहेको छ।

कार्यरत महासचिवको कार्यकाल समाप्त हुनु एक वर्ष अगाडिदेखि अन्तर्राष्ट्रिय आह्वानमा छनोट कार्य शुरुआत हुने गर्छ। ‘महासचिव पदमा दरखास्त दिउँ कि नदिउँ दोधारमा थिए। चिनेजानेका सबैले निवेदन दिन हौस्याए। दिँदैमा के हुन्छ? सबैले भने। मैले देखेको कार्ययोजना (ड्रिम पेपर) तयार गरेँ र निवेदन राखेँ,’ चापागाईले भने, ‘पहिलो चरणबाट राम्रो नतिजा निस्कियो। विभिन्न चरण पार लगाउँदै गएँ, निरन्तर अध्ययन तथा अनुभवलाई एकीकृत बनाए। कति रात निदाइन।’

यस पटक विश्व प्रसिद्ध बेलायती एक कम्पनीले छनोटको जिम्मेवारी पाएको थियो। कम्पनीले लिखित, मौखिक, व्यावहारिक तथा विगतका कामको पटक पटक मूल्याङ्कन गर्दै सम्भावित उम्मेदवारका नामावलीलाई महासङ्घमा सिफारिस (सर्ट लिस्टिङ) गरी पठायो। अन्तमा शक्तिशाली र प्रभावशाली २९ देश सहभागी ‘गभर्निङ बोर्ड’को बैठकको मतदानले ‘महासचिव पद’ टुङ्ग्याउँछ।

मतदानमा उनको पक्षमा दुई तिहाइ आएको जनाइएको छ। मत सङ्ख्या बाहिर ल्याउने प्रचलन रहेको छैन। महासङ्घको इतिहासमा सबैभन्दा बढी मत प्राप्त गरी महासचिव विजयी हुने उनी पहिलो व्यक्ति भएको बताइएको छ। हाल महासङ्घको अध्यक्ष फ्रान्सेस्को रोक्का छन्।

इलाड सईले महासचिवको अन्तिम कार्यभार सम्हालिरहेका छन्। ‘मत परिणाम कुरिरहेको थिएँ। मतगणनापछि लगत्तै अध्यक्ष फ्रान्सेस्कोले कङ्ग्राचुलेसन जगन भन्दै फोन गर्नुभयो। ‘थ्याङक यु’ मात्र भने। अब ‘थ्याङ्क यु सो मच’को जिम्मेवारी पूरा गर्न बाँकी छ,’ उनले भने, ‘बोर्ड सदस्य देशले मेरो विगतको कामको मूल्याङ्कन र आगामी लक्ष्य देखेर मतदान गरेको ठानेको छु। मत दिने, नदिने सबै देशलाई धन्यवाद दिन्छु। आगामी दिनमा समान व्यवहार गर्छु।’

उनी भन्छन्, ‘मलाई बाल्यकालदेखि ‘मानवीय सेवा गर्नुपर्छ’ भन्ने भोक जाग्न थालेको हो। मेरो जीवन रहुञ्जेल भोक जागिरहन्छ। भोकको छट्पटिएकाले मलाई यहाँसम्म पुर्‍यायो। सेवा गर्नेले कमाइ खोज्नु हुँदैन। कयौँ पटक आफ्नो आम्दानी दान गरेको छु।’ उनले आगामी योजना सुनाए, ‘प्राकृतिक तथा मानवसिर्जित विपद् जोखिम व्यवस्थापन तथा सङ्कटासन्न समुदायको उत्थानमा नयाँ सोचले काम गर्ने योजना बनाएको छु।’

पाँच दशकअघि चितवन दिव्यनगरमा सामान्य परिवारमा उनको जन्म भएको हो। आठ दाजुभाइ र दुइ दिदीबहिनी भएको परिवारमा हुर्किए। अहिले ५२ वर्षमा हिँडिरहेका छन्। ‘मैले मेरो लागि कहिल्यै सोचिनँ। अरुलाई के गर्न सकिन्छ, के दिन सकिन्छ भन्ने सेवाभाव जाग्दथ्यो। २०३७ मा भरतपुरस्थित बालकुमारी विद्यालयमा अध्ययन गर्दा जुनियर रेडक्रस सर्कल गठन गरेँ’ उनले विगत सम्झिए।

पछिल्लो समय प्रायः उच्च माध्यमिक विद्यालय तहमा जुनियर रेडक्रस सर्कल गठन भएका छन्। अमृत साइन्स कलेजबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेपछि उनले भारतबाट खानी (माइनिङ) इञ्जिनीयरिङमा स्नातक अध्ययन पूरा गरेका थिए। ‘बाबुआमाले मलाई डाक्टर भएको देख्न चाहनु हुन्थ्यो। बायोलोजी पनि पढेँ। इञ्जिनीयर भएको सुनाएपछि दुःख पाइस् भन्नुभयो। आधा जीवन सफल भएको ठानेँ। म दुःखमा सुख देख्दथे,’ चापागाईले भने, ‘दुःखमा जीवन लुकेको हुन्छ, सुखमा हुन्न।’

भुटानी शरणार्थी शिविरमा काम गर्न रेडक्रसले कर्मचारी माग गर्‍यो। अध्ययन पूरा भएकाले उनले निवेदन दिए। नाम निस्केपछि दमक पुगे उनी।
उनले सुरुआतका दिनमा गरेका कामले अन्तर्राष्ट्रिय प्रशंसा प्राप्त गर्‍यो।

उनी पदभन्दा कामलाई सर्वोच्च ठान्छन। कामले नै नाम कमाउने हो। शिविरमा मानवीय सहायताका विविध क्षेत्रमा गरेको कामलाई उच्च प्रशंसा गर्दै महासङ्घले उनलाई आफ्नो मुख्यालय जेनेभा बोलायो र सन् १९९६ ताजकिस्तानमा खटाइदियो।

‘जीवन छोटो छ, जतिदिन रहिन्छ, मानव सेवामा लगाउनुपर्छ’ भन्ने मान्यतालाई उनले कहिल्यै जीवनबाट विचलित हुन दिएनन्। ‘सन् १९९६ जुनमा ताजकिस्तान गएँ। सोभियत सङ्घ विघटन हुँदा गृहयुद्धले तहसनहस बनाएको थियो। वृद्धामात्र रहेका थिए। ६ हजार वृद्धालाई स्याहार गर्ने कामको जिम्मा पाएको थिएँ,’ उनले त्यो समय सम्झिए, ‘ती वृद्धालाई अस्थायी वासस्थानको व्यवस्थादेखि खाना खुवाउने अन्य सेवामा तल्लीन रहेँ। कति वृद्धाले आफ्नै सन्तान सम्झेर मलाई अङ्गालो हालेर रोए। आँशु पुछिदिँदा दिन बितेको पत्तै पाउन्नथेँ। छोटो समयमा उत्कृष्ट सेवाको प्रबन्ध मिलाए।’

तिनै वृद्धाले दिएको ‘आशीर्वचन’ उनका लागि थप मार्गदर्शन बन्न पुग्यो। सङ्घको विघटनले मध्य एशियामा समेत चरम मानवीय सङ्कट निम्त्याएको थियो। उनी  सङ्कटलाई टार्न महासङ्घलाई नयाँ नयाँ योजना पस्कँदै गए। उनका गहकिला सुझावलाई संस्थाले शिरोपर गर्दै कार्यान्वयनमा उतार्दै गयो।

सङ्कटासन्न समुदायको व्यवस्थापनमा उनले गरेको कामले उच्च प्रशंसा पाइरह्यो। ‘सेवाभन्दा ठूलो केही हुँदैन, सेवा गर्नेहरु भोकै पर्दैनन्’ उनले भने, ‘पैसाको पछाडि कहिल्यै दौडिन।’

महासङ्घ उनका कामदेखि औधि प्रभावित बन्दै गयो। हरेक सङ्कटासन्न समुदायका उत्थान तथा विपद्का क्षेत्रमा राहत, उद्धार र व्यवस्थामा उनलाई महासङ्घले परिचालित गर्दथ्यो।

उनले सन् २००३ देखि दक्षिण एशियामा सञ्चालित सबै मानवीय सहयोगका कार्यक्रम हेर्ने गरी प्रमुखको जिम्मेवारी पाए। यसअघि सन् २००१ मा भारतको गुजरातमा गएको विनाशकारी भूकम्पको खोज, उद्धार तथा राहत लिएर उनी  खटिएका थिए। गुजरात भूकम्पमा महासङ्घले गरेको सहायतालाई भारत सरकारले उच्च प्रशंसा गरेको थियो।

सन् २००४ को सुनामीले श्रीलङ्का, मालदिभ्स र भारतलाई नराम्रोसित प्रभाव पा¥यो। जनधनको ठूलो क्षति भयो। सुनामी पीडितको सहयोगमा उनी तल्लीन भएका थिए।
सन् २००५ मा पाकिस्तानमा गएको भूकम्पपछि उद्धार तथा राहतमा उनले नै नेतृत्व प्रदान गरेका थिए। उनी सन् २००६ मा  महासङ्घको मध्य एशियाको प्रमुख भए।

महासङ्घको सन् २००७ मा पुनःसंरचना भएपछि उनी एशिया प्यासिफिक क्षेत्रको नायब प्रमुखको हैसियतमा मलेसियाको क्वालालम्पुर पुगे। प्रमुखको अचानक निधन भएपछि उनले प्रमुख पदको जिम्मेवारी प्राप्त गरे।

यसबीचमा चीनको सिचुवानको भूकम्प, म्यान्मार र बङ्गलादेशमाको आँधी पीडितलाई सहयोग पु¥याउन उनले नै नेतृत्व प्रदान गरे। ‘अफिस काममा व्यस्त थिएँ। नेपालमा भूकम्प गयो, क्षतिको आँकलन भएको छैन, भूकम्पको पराक्रम जानेक्रम जारी रहेको सूचना पाएँ। त्यस्तो भौगोलिक बनोटमा कसरी खोजी, उद्धार तथा राहत पुर्‍याउने भन्ने विषयमा योजना थिए,’ नेपाल सरकार र नेपाल रेडक्रसलाई जानकारी गराएको बताउँदै उनले भने, ‘तत्काल जेनेभाबाट अन्तर्राष्ट्रिय मानवीय सहायताको अपिल जारी भयो।’

विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि उनी १४ गते काठमाडौँ आई अन्तर्राष्ट्रिय मानवीय सहयोगको समन्वय गरेका थिए। खोज, उद्धार तथा राहत कार्यक्रममा आफ्नो ज्ञान र अनुभव लगाए उनले। नेपाल रेडक्रसलाई भूकम्पपीडितका लागि आवास, जीविकोपार्जन, खानेपानी र सरसफाइ, स्वास्थ्य सेवालगायत पाँचवटा क्षेत्रमा एकीकृत कार्यक्रम सञ्चालन गर्न आर्थिक सहयोग जुटाउन समन्वय गरे। नेपाल रेडक्रसको इतिहासमा पहिलो पटक रेडक्रस दाता सम्मेलनसमेत भएको थियो।

महासङ्घको सेक्रेटरी काउन्सिलले उनलाई सन् २०१५ जुलाइमा ‘चिफ अफ स्टाफ’को नियुक्ति दियो। यसपछि उनी सन् २०१७ मे देखि उपमहासचिव पदमा कार्यरत छन्।

पछिल्लो तीन दशकमा विश्व भएका मानवीय सङ्कटको साक्षी बनेका छन्। विपद्लाई नजिकबाट नियाल्ने र व्यवस्थापन उनका ज्ञानले गरेको छ। ‘जलवायु परिवर्तनले निम्त्याएका विपद्, प्राकृतिक तथा मानवसिर्जित विपत्तिलाई धेरै देशले भोग्दै आएका छन्। यही अप्ठ्यारो, विपद्मा परेकालाई  उद्धार गर्ने र आगामी दिनमा विपद्को सामना गर्नसक्ने क्षमता विकास गर्ने आफ्नो कार्ययोजना रहेको छ,’ उनले भने।

पछिल्लो समय महासङ्घले समुदायमा आधारित दिगो विकाससम्बन्धी कार्यक्रमलाई महत्वका साथ अघि बढाएको छ। उनले नै सो अवधारणालाई अगाडि सारेका हुन्।

‘सामाजिक संस्थाले काम गरेर मात्र न गरिबी घट्छ, न समृद्धि हासिल हुन्छ। सर्वपक्षीय योजना कार्यान्वयनका लागि बहुपक्षीय योजना हुनुपर्ने र त्यसको नेतृत्व राज्यले गर्नुपर्छ,’ चापागाईले भने, ‘राज्यले नेतृत्व नलिइ गरिबी घट्दैन। आपत्मा परेका, गरिबीको दुष्चक्रमा फसेका र जलवायु परिवर्तनको चपेटामा परेकालाई समस्याबाट निकाल्ने अथक परिश्रम गर्छु, यही मेरो जीवनको सपना हो।’ (रासस)

प्रकाशित मिति: ११:४२ बजे, सोमबार, माघ १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्