विश्व पृथ्वी दिवस : ललितपुरमा साइकल र्याली

काठमाडौं, वैशाख ९ : विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइएको छ।
दिवसको अवसरमा पर्यावरण तथा वातावरण संरक्षणसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ। यसै अवसरमा ललितपुरको पाटन दरबार क्षेत्रबाट लुभुको महालक्ष्मी मन्दिरसम्मको साइकल र्यालीको आयोजना गरिएको थियो।

र्यालीमा नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसन लगाएत सहभागी थिए। त्यसअघि साइकल र्यालीलाई हरियो झण्डा देखाउँदै ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले पृथ्वीलाई जोगाउनका लागि पेट्रोलियम पदार्थलाई न्यूनीकरण गर्दै वातावरण सुधारका लागि साइकल चढ्ने परम्परा बसाउनुपर्ने बताए। उनले महानगरका अधिकांश स्थानमा साइकल लेन निर्माण गरिएको जानकारी दिए।
सन् १९७० अप्रिल २२ तारिखमा विश्वमा पहिलो पटक यो दिवस अमेरिकाले मनाएको थियो। सन् २००९ मा संयुक्त राष्ट्रसङ्घको ६३औँ महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरेको थियो।













