Kathmandu Press

राजविराजमा कैदीको मृत्यु

राजविराजबाट रिफर भई उपचारका क्रममा कोशी अस्पताल विराटनगर पुर्‍याइएका यादवको मृत्यु भएको कारागार प्रमुख किशोरकुमार रामले बताए।
राजविराजमा कैदीको मृत्यु

राजविराज, वैशाख ८ : राजविराज कारगारका एक कैदीको आज मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको महादेवा गाउँपालिका–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादव रहेका छन्। 

राजविराज कारागारमा मानव बेचबिखन ओसारपसार मुद्दामा सजाय काटिरहेका यादव बिरामी भएपछि बिहीबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरिएको थियो। राजविराजबाट रिफर भई उपचारका क्रममा कोशी अस्पताल विराटनगर पुर्‍याइएका यादवको मृत्यु भएको कारागार प्रमुख किशोरकुमार रामले बताए।

Hardik ivf

मृतकका श्रीमती मञ्जुदेवी यादवका अनुसार छारेरोग र कलेजो रोगबाट ग्रसित मिथलेशको खुट्टा सुनिएपछि अस्पताल भर्ना गरिएको थियो। मानव बेचबिखन ओसारपसार मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका उनी २०७७ चैत ११ गते घरबाटै पक्राउ परेका थिए। इलाका प्रहरी कार्यालय हनुमान नगबाट खटेको प्रहरी टोलीले यादवलाई घरबाटै पक्राउ गरेको थियो। 

सोही दिनदेखि उनी कारागारमा छन्। उनलाई अदालतले पाँच वर्ष कैद सजाय तोकेको थियो। शवलाई विराटनगरबाट राजविराज ल्याइएको छ। शवको परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ। 
    
बाल विकास सहयोगी कार्यकर्ता ३९ वर्षीया द्रौपतीदेवी चौधरी, सप्तकोशी फत्तेपुरका ३१ वर्षीय मुकेशजङ्ग खडका र मिथिलेश यादवले तालिममा भाग लनभन्दै झुक्याई दुई बालिकालाई २०७० असार २२ गते इटहरी नगरपालिका–१ स्थित रङ्गमञ्च गेस्ट हाउस पुर्‍याएका थिए।

होटलमा पुगेपछि पीडितलाई ललाइफकाइ शारीरिक सम्बन्ध राख्नका लागि सुरुमा पैसाको प्रलोभन दिएको र नमाने पछि डर त्रास देखाइ आरोपितले हातपात गरेका थिए। होटलमा द्रौपतीदेवीले मुकेश र मिथलेशसँग पीडितलाई बेचबिखन गर्ने तयारी गरिरहेको सुनेर सोही राति १० बजे बालिका होटलबाट भागेका थिए।

आरोपित खड्कालाई प्रहरीले २०७० साउन १८ गते पक्राउ गरेको थियो। खड्का २०७० भदौ १३ गते जिल्ला अदालतका न्यायाधीश रामप्रसाद अधिकारीको एकल इजलाशले पुर्पक्षका लागि कारागारमा थुनामा थिए। पछि पक्राउ परेकी द्रौपतीदेवी राजविराज कारगारमा कैद भुक्तान पूरा गरिसकेकी छन्। 

प्रकाशित मिति: १६:०६ बजे, शुक्रबार, वैशाख ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्