काठमाडौं, वैशाख ८ : पछिल्लाे समय मानसिक राेगीकाे संख्या बढ्दाे छ। अहिले थरीथरीका मानसिक राेगी उपचारका लागि अस्पताल पनि पुग्ने गरेका छन्। यस राेगप्रति मानिसकाे खासै ध्यान नपुग्दा जटिल स्थिति पैदा हुन सक्ने भन्दै चिकित्सकहरू चिन्ता व्यक्त गर्छन्।
यसै सिलसिलामा केही दिनअघि रिपोर्टिङका लागि मानसिक अस्पताल पाटन गएकी थिएँ। त्यहाँ उपचारका लागि आएका बिरामीहरूमा अस्पताल आउनुअघि र उपचारपछि स्वास्थ्यमा देखिएका परिवर्तनबारे मानसिक बिरामीका कुरुवाहरूसँग कुराकानी गरियो।
अस्पतालको मूल ढोका हुँँदै ३८ देखि ४३ नम्बर बेड राखिएको फिमेल वार्डभित्र पस्दा केही मानसिक बिरामी भेटिए। कोही बेडमा जागै थिए त कोही निदाइरहेका देखिए। कुरुवाहरू आपसमा कुराकानी गरिरहेका थिए। एउटा बेडमा अन्दाजी ३५ वर्षीया महिला ऊनबाट ओढ्ने सामग्री बुन्न व्यस्त थिइन्। उनलाई देख्दा लाग्थ्यो, उनी मानसिक रोगी नै होइनन्। उनको बुनाइतिर मेरो ध्यान तानियो र खास कुरा के हो भनी जान्न उत्सुक भएँ।
आफ्नो परिचय दिँदै उनका बारेमा सोधपुछ गरें। उनले नम्र शैलीमा आफ्नो नाम रेखा थापा भएको बताइन्। आफन्त र साथीभाइले रिहाना भनेर बोलाउने गरेको पनि उनले सुनाइन्। आफूलाई रिहाना नाम खुबै मन पर्ने भन्न पनि उनले भ्याइन्। उनको छेवैमा एउटा कापी, एउटा कलम र बाइबल थिए। छेउको एउटा टेबुलमा केही लुगा राखिएका थिए। मैले के बनाइरहेको भनेर सोध्दा दिनभरि बसिरहँदा दिमागमा धेरै कुरा खेल्ने भएकाले फुर्सदको समयमा जानेको सीपको उपयोग गरी रुमाल बनाउन लागेको उनले बताइन्।
रेखाले एउटा रुमाल तयार पारिसकेकी थिइन् भने अर्काे रुमाल भर्खरै सुरु गरेकी थिइन्। बनाइसकेको रुमाल फिल्टर छोप्न बनाएको उनले बताइन्, जुन निकै आर्कषक थियो। ‘बनाउँदै गरेको रुमाल टिभी छोप्नलाई हो, मलाई उपचारका लागि मानसिक अस्पताल ल्याउने सविना दिदीले नै ऊन किनेर दिनुभएकाले उहाँकै लागि यी रुमाल बनाएकी हुँ,’ रेखाले भनिन्।
खासमा उनको कुरा गराइमा मानसिक रोगीको कुनै छनक भेटिएन। तर थाहा लाग्यो केही दिनअघि उनको उक्त रोगको समस्या देखिएको थियो। उपचारले अहिलेको स्थितिमा उनी आइपुगेकी हुन्। रेखाले रुमालबाहेक लेस, गलबन्दी, टोपी, मोजासमेत बुन्न सक्ने बताइन्। ऊनबाट विविध सामग्री बनाउने सीप आफूले अरूको हरेर सिकेको बताइन्। त्यस सीपलाई उनी ‘गर्ड गिफ्ट’ ठान्छिन्।
रमाइलो कुरा हुँदै गर्दा एकाएक उनले वेदनाको पोका खोल्न थालिन्। बाल्यकालदेखिकै घटना एकएक गरेर उधिन्न सुरु गरिन्। मैले पनि ध्यानस्थ भएर उनलाई सुनें। कक्षा ३ मा पढ्दै गर्दा परिवारजनले उनको बिहे गरिदिए। बालविवाह भएपछि जीवनमा केही गर्ने रेखाको सपनामा पूर्णविराम लाग्यो। बिहेपछि घरधन्दा र चुलाचौकामै उनी सीमित भइन्। केही वर्षपछि पतिले दोस्रो बिहे गरे। त्यसपछि उनी तनावमा रहन थालिन्। पतिले त्यागेपछि १० वर्षअघि पाँच वर्षको छोरा लिएर उनी काठमाडौं आएकी रहिछन्।
काठमाडौं आएपछि उनको जीवन संघर्षमय बन्यो। सुरुका केही वर्ष काठमाडौंको बालाजुस्थित एक होस्टलमा र पछिल्ला केही वर्ष ललितपुरको नखिपोटस्थित एक होस्टेलमा काम गरिन्। आर्थिक स्थिति कमजोर भएकै कारण छोरालाई आश्रममा राखेको उनले सुनाइन्। ‘अहिले छोरा १५ वर्षको भइसक्यो। मेरो एक्लो सहारा त्यही छोरो हो,’ उनले दुखेसो पोखिन्, ‘उसलाई आश्रममा राख्ने चाहना नहुँदानहुँदै बाध्यताले त्यस्तै गरायो।’
मानसिक अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये रेखा फरक थिइन्। झट्ट हेर्दा उनी कुुनै किसिमले मानसिक रोगीजस्तो देखिँदैनथिन्। उनको बोलाइ र व्यावहारले कसैले उनलाई मानसिक बिरामी भनेर छुट्याउन गाह्रो थियो। वास्तवमा जीवनमा आइपरेका उतारचढावले रेखालाई मानसिक रोगी बनाएको रहेछ।
१० दिनअघि मानसिक अस्पताल ल्याउनुअघि रेखाको स्मरणशक्ति निकै कमजोर भइसकेको उनकी कुरुवा सविनाले बताइन्। रातभरि नसुतेर बाइबल पढेर प्रार्थना गर्ने, कसैसँग नबोल्ने, एकान्तमा बस्नेजस्ता लक्षण देखाउन थालेपछि रेखालाई मानसिक अस्पताल ल्याइएको बुझियो। अस्पताल ल्याई जाँचेपछि भर्ना गरियो। औषधि चलाएपछि उनको स्वास्थ्यमा निकै परिवर्तन आइसकेको कुरुवा सविनाले बताइन्।
०००
५५ वर्षीया शान्ता खड्का आफ्नी २५ वर्षीया छोरी पूजाको कुरुवाका रूपमा मानसिक अस्पतालमा भेटिइन्। उनी काठमाडौंको सतुंगल चन्द्रागिरि नगरपालिका–११ बाट छोरीको उपचारका लागि मानसिक अस्पताल पाटनमा आएकी हुन्। डिप्रेसन देखिएपछि अहिले अस्पतालमै भर्ना गरेर उनको उपचार भइरहेको छ।
जन्मँदा सामान्य भए पनि नौ वर्षकी हुँदा पूजा एक्कासि बिरामी परिन्। त्यसक्रममा उनले आफ्ना दुवै आँखाको ज्योति गुमाइन्। केही महिनादेखि उनलाई खुट्टा दुख्ने समस्यासमेत देखापर्यो। उनलाइ टिचिङ अस्पतालमा उपचारका लागि लगियो। डाक्टरले पूजालाई नसासम्बन्धी रोग भएको बताए। केही दिन अस्पतालमै राखेर पूजाको उपचार गरेपछि उनलाई पाटन अस्पतालमा रिफर गरिएको थियो।
अस्पतालबाट घर फर्केपछि पूजाको व्यवहारमा निकै परिवर्तन देखिन थल्यो। उनी बढी झर्किने, रिसाउने, कम बोल्ने र एक्लोपना महसुस गर्न थालिन्। करिब डेढ महिनाको उपचार गराउँदा पनि उनको व्यवहारमा परिवर्तन आएन। उनको परिवारले उनलाई डिप्रेसनको आशंकामा यही माघ १९ गते मानसिक अस्पताल पाटन ल्याइएको थियो। उपचारपछि उनी डिप्रेसनबाट पीडित रहेको पुष्टि भयो।
त्यसपछि उनलाई अस्पतालमै राखेर औषधि चलाउन थालियो। औषधि चलाएको १२–१५ दिनमै धेरै परिवर्तन भइसकेको पूजाकी आमा शान्ताले बताइन्।
०००
यसरी मानसिक रोगको उपचारका लागि मानसिक अस्पताल पाटनमा उपचार गराउँदै आएका रेखा थापा र पूजा खड्का प्रतिनिधि पात्र मात्र हुन्। नेपालको एक मात्र केन्द्रीय मानसिक अस्पताल पाटनमा रहेकाले यहाँ दिनहुँ २०० को हाराहारीमा मानसिक बिरामी आउने गरेको अस्पतालकी सूचना अधिकारी डा. लता गौतमले बताइन्।
मानसिक अस्पताल पाटनमा देशको कुनाकाप्चाबाट मानसिक रोगको उपचारका लागि बिरामीहरू आउने गरेको डा. गौतम बताउँछिन्। ‘अस्पतालमा दैनिक करिब २०० को हाराहारीमा अस्पतालमा बिरामी आउने गर्छन्, तीमध्ये ६० देखि ८० प्रतिशत डिप्रेसनको सिकार भएका हुन्छन् भने अरुमा अन्य खालका समस्या देखिन्छन्,’ उनले भनिन्।
‘मानसिक रोग ध्यान नपुगेको विषय’
मानसिक रोग मानिसहरूको ध्यान नपुगेको विषय बन्न पुगेको डा. गौतम बताउँछिन् । मानसिक रोगप्रति ध्यान नपुग्दा र बेलैमा उपचार नगर्दा स्थिति विकराल बन्ने गरेको उनको भनाइ छ । यो रोगको रोकथामका लागि सबैको ध्यान पुग्नुपर्नेमा उनी जोड दिन्छिन्।
उनका अनुसार मानसिक रोगका कारण मानसिक सन्तुलन गुमाएका र आत्महत्या गरेका घटना पहिलेपहिले पनि खुब सुन्नमा आउँथ्यो । त्यतिखेर नै मानसिक सन्तुलन गुमाउने र आत्महत्या गर्ने घटना बढ्दै जानुको कारण खोजी नगर्दा विश्वमा मानसिक रोग जटिल बन्दै गएको छ। मानिसको दैनिक जीवनमा आउने उतारचढाव, जैविक, मनोवैज्ञानिक र सामाजिक कारणले नेपालमा पनि मानसिक रोगका बिरामी बढ्दै गएको डा. गौतमको भनाइ छ ।
‘केही वर्षअघिसम्म कोही मानिसमा मानसिक रोगका कारण व्यवहारमा परिवर्तन आए त्यस्तो अवस्थामा बिरामीलाई अस्पताल लानुको साटो धामीझाँक्रीकोमा लाने गरिन्थ्यो। जसका कारण आत्महत्याका घटना बढ्दो थियो,’ उनी भन्छिन्, ‘आजभोलि शिक्षाको प्रभाव बढ्दै जाँदा र विभिन्न सञ्चार माध्यमबाट मानसिक रोगका बारेमा प्रचार गर्दा मानसिक रोगको संख्या बढ्दै गए पनि उपचार गराउनुपर्छ भन्ने चेतनाका कारण अस्पताल आउने क्रम बढ्दै गएको छ।’
डा. गौतमका अनुसार राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण नेपाल २०७७ को नतिजाअनुसार नेपालमा १३ देखि १७ वर्षका ५ दशमलव २ प्रतिशत किशोरकिशोरीमा मानसिक स्वास्थ्य समास्या देखिएको छ। जसमा २ दशमलव ८ प्रतिशतमा चिन्ताजन्य समस्या, ० दशमलव ६ प्रतिशतमा मानसिक रोगको समस्या पाइएको छ र ३ दशमलव ९ प्रतिशतमा आत्महत्यासम्बन्धी सोच रहेको पाइएको छ।
यस्तै १८ वर्षमाथिका १० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या देखिएको छ। जसमा ३ प्रतिशतमा चिन्ताजन्य समस्या, २ दशमलव ९ प्रतिशतमा मानसिक रोग, शून्य दशमलव २ प्रतिशतमा साइकोसिस र ७ दशमलव २ प्रतिशतमा आत्महत्यासम्बन्धी सोचको अवस्था देखिएको छ।
केही वर्षयता नेपालमा आत्महत्याका घटना बढ्दो छ। आत्महत्याको प्रमुख कारण मानसिक रोेगलाई मान्ने गरिन्छ। त्यसकारण आत्महत्याका घटनाले प्राथमिकता पाइरहेको अवस्थामा अझै समाज पूर्ण रूपमा शिक्षित भइनसकेको उनको भनाइ छ। अझै मानसिक रोगका बारेमा ग्रामीण भेगका धेरै मानिस शिक्षित नभएकाले समयमै अस्पतालमा पहुँच नहुँदा आत्महत्याका घटनाले तीव्रता पाइरहेको उनले बताइन् ।
मानसिक अस्पतालमा उपचारका लागि आएका बिरामी विभिन्न स्तरका हुन्छन्। इमर्जेन्सीमा आएका बिरामीहरूलाई चेकजाँचपछि उनीहरूको अवस्था हेरी भर्ना गरिन्छ भने सामान्य केसका बिरामीहरू जसले आफैं औषधि खान सक्छन् र परिवारले सहयोग गर्न सक्छन् भने त्यस्ता बिरामीलाई घरबाटै औषधि खान दिइन्छ तर उनीहरूको स्वास्थ्यमा परिवर्तन आएको छ या छैन भनेर समयसमयमा फलोअपमा बोलाउने गरिएको उनले बताइन्।
गौतमका अनुसार अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये सबैभन्दा बढी डिप्रेसन, एन्जाइटी, साइकोसिस, लागुपदार्थ दुव्र्यसनमा फसेका बिरामीहरू रहेका छन्। अस्पतालमै भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीहरूलाई १० दिनदेखि कसैलाई एकदेखि दुई महिनासम्म लाग्न सक्ने उनी बताउँछिन्। ‘उपचारका लागि आएका बिरामीको जटिलता हेरेर १० महिनादेखि एक वर्षसम्म औषधि पनि चलाउनुपर्छ,’ उनले भनिन्।
मानसिक रोग लाग्नुका विभिन्न कारण छन्। पहिलो कारण जैविक रहेको छ। अर्थात् वंशाणुगत कारणले पनि मानसिक रोग हुने गर्छ। अर्काे कारण मनोसामाजिक हो । पारिवारिक अवस्था कस्तो छ, कस्तो वातावरण हुर्केको छ, ती सबै कुराले प्रभाव पारेर पनि मानसिक रोग हुने गर्छ।
यसरी मानसिक रोगका लागि एक मात्र कारण नभई जैविक, मनोसामाजिक कारणहरू रहेको डा. लता गौतमको भनाइ छ। मानसिक रोग नियन्त्रणका लागि सरकारबाट बढीभन्दा बढी जनचेनता फैलाउनु आवश्यक रहेको उनी बताउँछिन्।
पाँच वर्षमा मानसिक अस्पतालमा कति बिरामी आए?
विगत पाँच वर्षमा मानसिक अस्पतालमा उपचार गराउने विरामीको संख्या वृद्धि भएको तथ्यांकले देखाउँछ। आर्थिक वर्ष २०७२/७३ मा ३८ हजारले उपचार सेवा लिएका थिए। त्यस्तै आव २०७३÷७४ मा ४१ हजार, आव २०७४/७५ मा यो संख्या बढेर ५० हजार पुगेको छ। त्यस्तै आव २०७७ चैत १ गतेदेखि २०७८ वैशाख ३१ गते सम्मको तथ्यांक हेर्दा अस्पातलको इमर्जेन्सी वार्डमा आएका बिरामीको संख्या ७ सय ३५, ओपपडीमा २३ हजार ३०२ जसमा ४ हजार ८८० नयाँ केस थिए भने १८ हजार फलोअपमा रहेका बिरामी थिए।
त्यस्तै अन्यमा २ हजार ७९८ बिरामीले सेवा लिएका थिए भने नयाँ केसमा ९७९ र फलोअपमा १ हजार ८१९ रहेको छ । यसरी २० हजार, २४१ फलोअपमा र ६ हजार ५९४ नयाँ केश थिए । नयाँ र पुराना गरेर २०७७ चैत्रदेखि २०७८ वैशाख सम्ममा २६ हजार ८३५ जनाले मानसिक अस्पतालमा आएर उपचार गराएका छन् । २०७८ वैशाखदेखि चैत मसान्तसम्म १ हजार १८३ र २०७९ मा ४ हजार २७२ ले मानसिक अस्पताल पाटनबाट उपचार सेवा लगेका छन् ।
मानसिक स्वास्थ्य शाखाले के गरिरहेको छ?
एनसिडी तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा. फणीन्द्रप्रसाद बरालका अनुसार विगतको केही वर्षको तुलनामा कोराना महामारीले गर्दा मानसिक बिरामी बढ्दै गएका छन्। आर्थिक वर्ष २०७७/७८ मा ७ हजार १४१ ले आत्महत्या गरेका थिए भने र २०७८/७९ असार मसान्तसम्म ६ हजार ८३० ले आत्महत्याका गरेका थिए। त्यसकारण आत्महत्याका घटना ४.५ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ। यसरी तथ्यांकमा आत्महत्याको घटना केही हदसम्म घटेको देखाए पनि मानसिक बिरामीको संख्या घटेको भन्न नमिल्ने बरालको भनाइ छ।
नेपालमा रहेका मानसिक बिरामीको उपचारमा पहुँच होस् भनेर शाखाले प्रत्येक प्रदेशमा मानसिक स्वास्थ्य उपचारका औषधि खरिद गर्न वार्षिक ५० लाख रकम उपलब्ध गराउँदै आएको शाखा प्रमुख डा. बरालले बताए । मानसिक स्वास्थ्यसम्बन्धी ११ थरी औषधि निःशुल्क प्रदान गरिँदै आएको उनको भनाइ छ। ‘विगत पाँच वर्षदेखि स्वास्थ्यकर्मीलाई मानसिक रोगसम्बन्धी ६ किसिमका तालिमको व्यवस्था पनि शाखाले दिँदै आएको छ,’ उनले भने।
केन्द्रीय मानसिक अस्पताल पाटनबाहेक अहिले नेपालका सेकेन्डरी लेभलका सबै अस्पतालले मानिसक स्वास्थ्यको आउटडोर सेवा दिँदै आएको बरालको भनाइ छ । उनी भन्छन्, ‘गत आर्थिक वर्षदेखि देशभरका १३ ओटा प्रदेशिक अस्पतालमा इनडोरसहितको मानसिक सेवा र हरेक मेडिकल कलेजमा मानसिक स्वास्थ्यको छुट्टै वार्ड, मनोचिकित्स डिपार्टमेन्ट पनि सुरु गरेको छ।’