निजामती कर्मचारी आन्दोलित, निजामती सेवा ऐन तत्काल जारी गर्न दबाबमूलक कार्यक्रम गर्ने
पाँचवटै ट्रेड युनियनहरूले बुधबारै सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, मुख्यसचिव, प्रधानमन्त्री, प्रदेशका प्रमुख सचिवलाई एकसाथ ज्ञापनपत्र बुझाएका छन्।
काठमाडाैं, वैशाख ६ : निजामती कर्मचारीहरू आन्दोलित बनेका छन्। संघीय निजामती सेवा ऐन जारी नगरेको भन्दै उनीहरु आन्दोलित भएका हुन्।
पाँचवटै ट्रेड युनियनहरूले बुधबारै सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, मुख्यसचिव, प्रधानमन्त्री, प्रदेशका प्रमुख सचिवलाई एकसाथ ज्ञापनपत्र बुझाएका छन्।
यस्तै, संयुक्त ट्रेड युनियन सञ्जालले कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन तत्काल जारी गराउनका लागि दबाबमूलक कार्यक्रम गर्ने भएको छ।
सञ्जालले सार्वजनिक गरेको तीन दिने विरोधका कार्यक्रमहरुमा संघीय निजामती सेवा ऐन जारी गर्न देशभरबाट मोवाईल एसएमएसमार्फत ध्यानाकर्षण गराउने, सिंहदरवार परिसरभित्र कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई सिंहदरवार प्रवेश नगर्न आव्हान गर्ने लगाएतका छन् ।
संघ, प्रदेश तथा स्थानीय तहको कर्मचारी प्रशासनलाई व्यवस्थापन एवं मार्गदर्शन गर्ने छाता कानूनको रुपमा रहेको सङ्घीय निजामती सेवा ऐन जारी नहुँदा मुलुकको सार्वजनिक प्रशासन अन्योल र अस्थिरताको भुमरीमा परेको सञ्जालले जनाएको छ ।
पत्रकार सम्मेलनमा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले ६ वर्षअघि ऐनको मस्यौदा भएको भएपनि अहिलेसम्म कसैले पनि ऐन ल्याउन नचाहेको आरोप लगाए।
यस्तै, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले आफूहरुले ७७ वटै जिल्लाका सञ्जालमार्फत माग पूरा गराउन सरोकारवालाहरुलाई ज्ञापनपत्र बुझाएको तर संविधान जारी भएको ७ वर्ष वितिसक्दापनि संघीय निजामती ऐन जारी हुन नसकेको उल्लेख गरे।












