सप्तकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन युवकमध्ये एकको मृत्यु

काठमाडौं वैशाख ६ : सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक युवकको मृत शरीर फेला परेको छ । आफन्तको श्राद्धमा जाने कममा सुनसरीको वराहक्षेत्रस्थित कोशी नदीमा बुधबार बिहानदेखि तीन युवक बेपत्ता भएका थिए ।
नदीमा बेपत्ता भएकामध्ये झापाको दमक-२ का १७ वर्षीय नवीन न्यौपानेको शव घटनास्थल नजिकै कोशीको भंगालोमा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
जिप्रका सुनसरीका अनुसार बेपत्ता रहेका दमक -९ का १९ वर्षीय रुद्र न्यौपाने र मोरङ उर्लावारी ७ का १८ वर्षीय राज गुरागाईँको खोजी भइरहेको छ ।
सशस्त्र प्रहरी बल र नेपाल प्रहरी गोताखोर टोलीसहित स्थानीयहरूले बेपत्ता दुवै जनाको खोजी गरिरहेको जिप्रका सुनसरीले जनाएको छ । प्रहरीका अनुसार ती युवकहरू आफन्तको श्राद्ध गरिएको स्थानबाट नुहाउनका लागि कोशी किनारमा गएका थिए ।
प्रकाशित मिति: १६:११ बजे, बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












