दिवा खाजा कार्यक्रम फलदायी : मन्त्री शर्मा
‘चाइना फाउण्डेसन फर रुरल डेभलपमेन्ट नेपाल’ले आज थहिँटीस्थित शान्ति शिक्षा माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा उहाँले गुणस्तरीय शिक्षाका लागि सबल स्वास्थ्य अनिवार्य शर्त रहेको बताए।
काठमाडाैं, वैशाख ५ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालबालिकाको सवल स्वास्थ्यका लागि दिवा खाजा कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरेकी छन्।
‘चाइना फाउण्डेसन फर रुरल डेभलपमेन्ट नेपाल’ले आज थहिँटीस्थित शान्ति शिक्षा माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा उहाँले गुणस्तरीय शिक्षाका लागि सबल स्वास्थ्य अनिवार्य शर्त रहेको बताए।
'स्वास्थ्य राम्रो नभइ राम्रो शिक्षा प्राप्त गर्न सकिँदैन,' उनले भनिन्, 'राम्रो स्वास्थ्य प्राप्त गर्न यस्ता कार्यक्रम उपलब्धिमूलक हुनेछ।' सामुदायिक दिवा खाजा कार्यक्रमलाई देशव्यापी रुपमा विस्तार गरिने उनको भनाइ थियो।
उनले दिवा खाजा विस्तार गर्ने योजनामा चीन सरकारले पुर्याएको योगदानले नेपाल सरकारले लिएको लक्ष्य प्राप्तिमा महत्वपूर्ण सहयोग भएको बताइन्। सरकारले कर्णाली प्रदेशबाट सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु गरेको थियो। सरकारले विगत तीन वर्षदेखि पूर्वप्राथमिकदेखि ३ कक्षासम्म र चालु आवदेखि कक्षा ६ सम्म दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ।
प्रतिदिन प्रतिविद्यार्थी रु १५ का दरले विद्यार्थीलाई दिवा खाजा खुवाउने कार्यक्रम गरिरहेको छ। नेपालको सूचना प्रविधिको क्षेत्रमा चीनले ठूलो योगदान दिएको उल्लेख गर्दै उनले सूचना प्रविधिको पहुँच र गुणस्तर बढाउने कार्यक्रमा चीनले सहयोग गर्ने विश्वास व्यक्त गरिन्। चीनले नेपाललाई जुनसुकै अप्ठ्यारो अवस्थामा सहयोग गर्दै आएको उनको भनाइ थियो।
नेपालका लागि चीनका राजदूत चेन सोङले कोरोना महामारी तथा विभिन्न प्रकोपमा चीनले नेपाललाई सहयोग गर्दै आएको बताए। काठमाडौँ महानगर पालिकाका प्रवक्ता नवीन मानन्धरले सो संस्थाले कामपाका विभिन्न सामुदायिक विद्यालयमा झोला, सरसफाइ सामग्री र न्यायो कपडा वितरण गर्दै आएको बताए। कामपाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले सरकारले उपलब्ध गराउँदै आएको रकममा कामपाले प्रतिविद्यार्थी रु १० थप गरी चालु वर्षदेखि कक्षा आठसम्म खाजा खुवाउने कार्यक्रम सुरु गरेको बताए।
विकासोन्मुख देशमा गरिब पृष्ठभूमिका प्राथमिकस्तरका बालबालिकाले सामना गर्ने भोकमरीको समस्यालाई सम्बोधन गर्ने लक्ष्यका साथ फाउण्डेसनले एक वर्षदेखि विभिन्न सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रममा सहयोग गर्दै आएको छ।
सो संस्थाले नेपालको शिक्षा, स्वास्थ्य, खानेपानी, पोषण, सीप तथा सामुदायिक विकासमा सहयोग गर्दै आएको छ। काठमाडौँ महानगरभित्रका १० र सामुदायिक विद्यालयमा फाउण्डेसनको सहयोगमा दिवा खाजा कार्यक्रम लागू भएको छ।
यी विद्यालयमा १० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। ती विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले पोषणयुक्त खाजाका साथै एक सय ५० मिलिलिटर दूध पाउँदै आएका छन्।












