मिटरब्याज पीडितको पक्षमा उभिए राजेन्द्र लिङ्देन, सरकारविरुद्ध सडक संघर्षमा जाने चेतावनी

काठमाडौं, बैशाख ५ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देन मिटरब्याज पीडितको पक्षमा उभिएका छन् । उनले मिटरब्याज पीडितमाथि सोमबार प्रहरीले गरेको दमनको भर्त्सना गरेका हुन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मिटरब्याज पीडितमाथि निर्मम ढंगले आक्रमण गरिएको बताए। ‘निर्धा र निमुखाहरूका लागि राज्य अभिभावकको रुपमा उभिनुपर्नेमा न्यायको माग गर्दै आएका मिटरब्याज पीडितहरूलाई सरकारले जुन हिजो निर्मम ढंगले आक्रमण गरेको छ। त्यसको म निन्दा र भर्त्सना गर्न चाहन्छु’, उनले भने।
उनले समाजमा गरिबहरूको अर्थात् सर्वहाराहरूको अधिनायकत्व स्थापना गर्नेछौं भन्ने सपना बाँडेको पार्टीकै नेतृत्वमा सरकार भएकै बेलामा निमुखामाथि आक्रमण भएको बताए।
‘यतिबेला गरिब र निमुखामाथि बर्बर आक्रमण किन भइरहेको छ ? सरकारले मिटरब्याज पीडितहरू र अहिले तराईमा आन्दोलनरत रहेका हरूवाचरुवाहरूको मागलाई समयमा सम्बोधन गरोस्’, उनले आग्रह गरे।
लिङ्देनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्ध सडक संघर्षमा जाने चेतावनी समेत दिएका छन् ।












