Kathmandu Press

८०४ भित्तेपात्रोलाई स्वीकृति

भित्तेपात्रो प्रकाशन गर्नेले समितिको स्वीकृति लिनुपर्ने गरी सरकारले २०७७ पुस २० गते गठन आदेश जारी गरेको थियो।
८०४ भित्तेपात्रोलाई स्वीकृति

काठमाडाैं, वैशाख ३ : नेपाल पञ्चांग निर्णायक विकास समितिले २०८० सालका लागि ८०४ भित्तेपात्रो (क्यालेन्ड) लाई स्वीकृति दिएको छ।   

भित्तेपात्रो प्रकाशन गर्नेले समितिको स्वीकृति लिनुपर्ने गरी सरकारले २०७७ पुस २० गते गठन आदेश जारी गरेको थियो।

Hardik ivf

गठन आदेश बमोजिम २०८० सालका लागि हालसम्म ८०४ वटा भित्तेपात्रोले स्वीकृति पाएको र अहिले पनि केही भित्तेपात्रो प्रकाशन गर्ने संस्था स्वीकृति लिने क्रममा रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए। 

सरकारले जारी गरेको समितिको गठन आदेश २०७८ असारमा नेपाल राजपत्रमा प्रकाशन भएको र सोबमोजिम विसं २०७९ देखि समितिसँग स्वीकृति लिएर भित्तेपात्रो प्रकाशन हुन थालेको हो। गत वर्ष करिब एक हजार भित्तेपात्रो स्वीकृति लिएर प्रकाशन गरिएको थियो।

समितिको स्वीकृति नलिई प्रकाशन हुने भित्तेपात्रोलाई कारबाही प्रक्रिया पनि अघि बढाइएको जानकारी उनले दिए। स्वीकृति नलिई प्रकाशन हुने भित्तेपात्रोको अनुगमनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका संस्कृति महाशाखा प्रमुखको संयोजकत्वमा गृह मन्त्रालयसहित सरोकार भएका निकायका प्रतिनिधि सदस्य रहेको अनुगमन समिति गठन गरिएको छ। 

उक्त समितिअन्तर्गत पञ्चाङ्गकार मुरारीराज पाण्डेको संयोजकत्वमा उपसमिति पनि गठन गरिएको र सो समितिमा संस्कृति र गृह मन्त्रालयका शाखा अधिकृत पनि सदस्य रहेका छन्। समिति र उप समितिले अनुगमन गरी स्वीकृति नलिई प्रकाशन हुने भित्तेपात्रोलाई कारबाही गर्न लागेको हो। समितिले आजैदेखि अनुगमन सुरु गरेको जनाइएको छ।

स्वीकृति नलिई प्रकाशन हुने भित्तेपात्रोमा तिथि, मिति, चाड पर्वलगायतमा दोहोरोपन आउन थालेकाले सरकारले यस्तो व्यवस्था गरेको हो। समितिले अनलाइनबाटै भित्तेपात्रो प्रकाशनका लागि फारम भरेर स्वीकृति लिन सक्ने व्यवस्था पनि गरेको छ।

प्रकाशित मिति: १२:३७ बजे, आइतबार, वैशाख ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्