Kathmandu Press

वैशाखदेखि मासिक रुपमा ‘बक्स अफिस’ विवरण हुने

बोर्डका अध्यक्ष भुवन केसीले व्यापारबारे फैलिने भ्रम हटाउन वैशाखदेखि मासिक रुपमा बक्स अफिस विवरण सार्वजनिक गर्ने जानकारी दिए।
वैशाखदेखि मासिक रुपमा ‘बक्स अफिस’ विवरण हुने

काठमाडौं, वैशाख २ : नेपालभर चलचित्र प्रदर्शन भएवापत गरेको व्यापारको तथ्यांक नेपाल सरकारसँग बक्स अफिस प्रणाली (ई–टिकेटिङ सिस्टम)मार्फत प्राप्त हुने गर्छ।

२०७६ देखि नेपालमा लागू गरिएको यो प्रणाली सुरू नहुँदा निर्माता वितरककै तथ्यांकमा भर परिरहेका थिए। चलचित्रको वास्तविक कमाइको विवरण देखाउने प्रणालीमार्फत कुन चलचित्र भवनमा कति टिकट बिक्री भयो भन्ने आधिकारिक तथ्याङ्क निर्माता तथा वितरकले थाहा पाउँछन्।

Hardik ivf

यो प्रणाली जडान भएको तीन वर्ष पूरा भइसक्दा पनि यसको विश्वसनीयतामा प्रश्न उठ्ने गरेको छ। बोर्डले २०७९ सालमा प्रदर्शन भएको एक सय ३५ मध्ये एक सय ३२ चलचित्रको कूल व्यापार सार्वजनिक गरेपछि प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ४’ को सार्वजनिक भएको विवरणलाई लिएर निर्माण समूहले आपत्ति जनाएको छ ।

गत फागुन १९ देखि प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ४’ ले बोर्डको विवरणअनुसार छ लाख आठ हजार चार सय दुई टिकेट बिक्री भएवापत १६ करोड ९४ लाख ३४ हजार छ सय ३४ कूल व्यापार गरेको छ।

प्रदर्शनरत भएकाले यसको व्यापार अझै बढ्ने देखिन्छ। चलचित्रका लेखक तथा निर्मातासँगै कलाकार रहनुभएका दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत नै सार्वजनिक भएको विवरण ठीक नभएको प्रतिक्रिया दिए।

चलचित्रका अर्का निर्माता निर्मल शर्माले पनि बोर्डको सार्वजनिक विवरण कम देखिएको जानकारी दिए। उनले भने, ‘हामी छलफल गरेर यसबारे जानकारी दिने तयारीमा छौं। बोर्डले सार्वजनिक गरेको विवरणमा निकै फरक परेको छ। यसबारे आधिकारिक धारणा नै सार्वजनिक गर्छौं।’

बोर्डले सार्वजनिक गरेको तथ्यांकमा सामान्य फरक भने पर्न सक्ने बक्स अफिस अधिकृत प्रवीण पाण्डे बताउँछन्। ‘सबै चलचित्र भवनमा बक्स अफिस प्रणाली जडान भए पनि अनुगमनको अभावमा केही हेरफेर हुनसक्छ। केहीले नियतबस पनि गरिरहेका हुन्छन्। तर बोर्डले यसमा अनुमगन बढाएको छ,’ उलने भने।

यसैबीच बोर्डका अध्यक्ष भुवन केसीले व्यापारबारे फैलिने भ्रम हटाउन वैशाखदेखि मासिक रुपमा बक्स अफिस विवरण सार्वजनिक गर्ने जानकारी दिए। मासिक रूपमै विवरण सार्वजनिक हुँदा व्यापारलाई लिएर भ्रम सिर्जना नहुने उनको विश्वास छ।

प्रकाशित मिति: १२:०० बजे, शनिबार, वैशाख २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्