कांग्रेस सांसद श्याम घिमिरेले भने- आजसम्म कुनै नेतासामु आफूलाई मन्त्री बनाइदिन आग्रह गरेको छैन
गत मंसिरमा सम्पन्न आम निर्वाचनमा सिन्धुली–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी घिमिरेले साथीहरू र स्वजनहरूको प्रेमिल दबाबबाट बच्न नयाँ मन्त्रीहरू बन्नुपूर्व नै जिल्ला गएर मन्त्रीहरू बनाइएपछि मात्र काठमाडौ आएको जिकिरसमेत गरेका छन्।
काठमाडाैं, चैत ३० : कांग्रेस सांसद श्याम घिमिरेले आजसम्म कुनै नेतासामु आफूलाई मन्त्री बनाइदिन आग्रह नगरेको स्पष्ट पारेका छन्। उनले हल्लाको भरमा परेर आफूमाथि थप अन्याय नगरिदिन पनि अनुरोध गरेका छन्।
आफू १२ दिन जिल्ला बसेर आउँदा आफ्नो बारेमा अनावश्यक अफबाह फैलिएको भन्दै उनले सामाजिक सञ्जालमार्फत सात बुँदामा उनले वास्तविकता सार्वजनिक गरेका छन्। गत मंसिरमा सम्पन्न आम निर्वाचनमा सिन्धुली–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी घिमिरेले साथीहरू र स्वजनहरूको प्रेमिल दबाबबाट बच्न नयाँ मन्त्रीहरू बन्नुपूर्व नै जिल्ला गएर मन्त्रीहरू बनाइएपछि मात्र काठमाडौ आएको जिकिरसमेत गरेका छन्।
‘म जिल्ला बसेर १२ दिनपछि फर्कंदा मेरा विषयमा एउटा हल्ला व्यापक बनाइएछ। म मन्त्री बन्न नपाएर आक्रोसित भएको, निराश भएको र टिम नै परिवर्तन गर्न लागेको आदि,’ उनले फेसबुकमा लेखेका छन्, ‘टिकट वितरणको समय होस वा चुनावको समयदेखि आजसम्म पनि यस्ता अफवाहका उपक्रम चलि नै रहेका छन्। यस विषयमा वास्तविकता सार्वजनिक गर्नैपर्ने भएर गर्दैछु।’
यी हुन् घिमिरेका सात बुँदा
१. मैले आजसम्म कुनै नेताहरू सामु आफूलाई मन्त्री बनाईदिन आग्रह समेत गरेको छैन, छ भने नेताहरूसँग बुझ्न सक्नुहुने नै छ।
२. विषय सन्दर्भमा मन्त्री बनाउने सिलसिलामा सिन्धुली जिल्ला अन्यायमा परेकोसम्म जिकिर गरें हुँला।
३. मन्त्रीका लागि नेताहरूलाई भन्नु पर्छ भन्ने साथी रस्वजनहरूलाई समेत म चाहिँ भन्दिनँ, तपाईंहरूलाई लाग्छ भने आफैं भन्नुस भनेर भन्थें।
४. साथीहरू र स्वजनहरूको प्रेमिल दबाबबाट बच्न नयाँ मन्त्रीहरू बन्नुपूर्व नै जिल्ला गएर मन्त्रीहरू बनाइएपछि मात्र काठमाडौ आएँ।
५. यसरी जसले मन्त्री बनाइदिन नेताहरूलाई आजसम्म आग्रह समेत गरेको छैन, त्यसका विषयमा यस्ता हल्ला फैलाएर वा हल्लाको भरमा परी म माथि थप अन्याय नगरिदिन सबैमा अनुरोध गर्दछु।
६. मैले निर्वाचन कै समयमा एउटा कुरा बारम्बार भनेको थिएँ, मैले जित्दै गर्दा यस क्षेत्रले एउटा साँसद, मन्त्री मात्र नभएर एउटा राष्ट्रिय नेता प्राप्त गर्नेछ, यस प्रति आज पनि म उत्तिकै दृढ छु।
७. म मन्त्री नभए पनि मैले एउटा साँसदको मूख्य दायित्व राष्ट्रिय राजनीतिमा र संसदिय फाँटमा खेल्ने भूमिका एबं आफ्नो निर्वाचन क्षेत्र र मतदाता प्रतिको भूमिकामा खरो उत्रने प्रतिवद्वता पुनः जाहेर गर्दछु।












