Kathmandu Press
आफैंले बोकेको ब्याग १ सय डलरमा बिकेपछि व्यवसायी बनेका गणेश ऐडी
आफैंले बोकेको ब्याग १ सय डलरमा बिकेपछि व्यवसायी बनेका गणेश ऐडीहेम्प ब्याग उद्योगका सञ्चालक गणेश ऐडी वार्षिक २ करोड बराबरको कारोबार गर्छन्। विश्व बजारमा हेम्प (गाँजाको रेसा) को व्यापार विस्तार भइरहे पनि नेपालमा छलफल मात्र भइरहेको उनी बताउँछन् ।

काठमाडौं चैत ३ : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१ हेम्प ब्याग उद्योगमा एक वर्षदेखि कार्यरत छिन्, ४० वर्षीया हासु थापा। बझाङकी उनी त्यहाँ एउटा ब्यागको धागो काटेबापत पाँच रुपैयाँ कमाउँछिन्। उनका पति पनि त्यही उद्योगमा कपडा काट्ने काम गर्छन्।

थापा दम्पती काम गर्ने उक्त हेम्प ब्याग उद्योगका सञ्चालक पनि बझाङकै हुन्, ४९ वर्षीय गणेश ऐडी। आफन्त पर्ने भएकाले हासु त्यहाँ काम गर्न आइपुगेकी हुन्। ‘पति पनि यहीँ काम गर्ने भएकाले दिन बिताउन सामान्य काम गर्छु,’ हासुले भनिन्।

हासुसँगै कोही ब्याग सिलाउन, कोही मिलाउन त कोही लेखाजोखा गर्न व्यस्त हुन्छन्। ४९ वर्षीया टीका निरौला सोही उद्योगकी कर्मचारी हुन्। उनले त्यहाँ काम गरेको एक दशक भयो। उनी कर्मचारी विवरण, सामग्री आयात–निर्यातसँगै गुणस्तर परीक्षणमा सक्रिय रहन्छिन्। उनले परीक्षण गरेपछि मात्र ब्याग बजारमा पुग्छन्।

340467244_617543716515155_5566958394021701848_n1681286196.jpg
हेम्प ब्यागकाे धागाे काट्दै बझाङकी हासु थापा।

हेम्प ब्याग उद्योगमा प्राकृतिक रेशाबाट ब्याग, कपडा, जुत्ता, सजावट सामग्री उत्पादन गरिन्छ। त्यस्ता सामग्री धेरैजसो हेम्प (गाँजाको रेसा) र अल्लोबाट बनाइन्छन्। उक्त कच्चा पदार्थ नेपालका ४९ जिल्लाबाट खरिद गरिन्छ।

हेम्प ब्याग उद्योगले अहिले २०० भन्दा धेरै प्रकारका सामग्री उत्पादन गर्ने गरेको छ। मागअनुसारका डिजाइनबमोजिम सामग्री उत्पादन र निर्यात गर्ने काम आफूहरूले गर्दै आएको सञ्चालक ऐडीले बताए। ‘अर्डरअनुसार नयाँ डिजाइनका सामान बनाउँछौं,’ उनले भने।

हेम्प र अलौबाट जुत्ता, मोजा, सर्ट, पाइन्ट, टिर्सट, ज्याकेट, ब्याग, पर्स, टोपीलगायत विभिन्न सामग्री उत्पादन हुन्छ। उद्योगमा ५० रुपैयाँदेखि ४ हजारसम्म मूल्य पर्ने सामग्री उत्पादन हुने र ती सामग्री स्वदेशी तथा विदेशी बजारमा बिक्री गरिने ऐडीले बताए। ‘स्वदेशमा मात्र नभई विश्वभरि ७० देशमा हेम्पका सामग्री निर्यात गर्छौं,’ उनले भने, ‘धेरैजसो विदेशमा बस्ने नेपालीले अर्डर गर्छन्।’

सञ्चालक ऐडीले वार्षिक २ करोड बराबरको कारोबार गर्छन्। कच्चा पदार्थमा १ करोड २० लाख खर्च हुन्छ भने बाँकी जग्गा भाडा र कर्मचारी तलबमा खर्च हुने उनले बताए। ‘विश्वमा हेम्पको व्यपार विस्तार भइरहेको छ। तर नेपालमा यसको विषयमा छलफल मात्र छ,’ उनले भने।

अनि व्यवसायी बने गणेश

बझाङमा जन्मेका ऐडी ९–१० वर्षको उमेरसम्म भ्रांग्राका लुगा लगाउँथे। अहिले पनि बुढापाकाले बझाङमा आफैंले बनाएका लुगा लगाउँछन्। राजाको पालामा बझाङवासीले हेम्पबाट बनेका लुगा बनाएर चढाए आफूले भोगचलन गरेको जग्गा जमिनको पैसा तिर्नुपर्दैनथ्यो। लुगा बनाएर लगिदिँदा करशुल्क माफी हुन्थ्यो। त्यसकारण त्यहाँका बासिन्दाले विभिन्न रेशाबाट कपडा बुन्थे।

340461314_1380334192820714_5314489993034571953_n1681286315.jpg
हेम्प ब्याग उद्योगका सञ्चालक गणेश ऐडी।

उनका परिवारमा पनि त्यो सीप थियो। उनले बाल्यकालमा हेम्पबाट बनेका लुगा लगाए। ऐडी बझाङकै सत्यवादी माध्यमिक विद्यालयमा पढ्थे। २०४६ सालतिरको कुरा थियो। विद्यालयले हाजिरीजवाफ प्रतियोगितामा सहभागी हुन उनलाई काठमाडौं पठायो। काठमाडौंमा शिक्षकहरूले विभिन्न ठाउँ घुमाए। हनुमानढोका दरबारतिर घुम्दै गर्दा एक विदेशी पर्यटकले ब्याग बेच्न आग्रह गरेको उनले सुनाए।

त्यतिबेला ऐडीले घरमा आमाबुबाले बुनिदिएको हेम्पको ब्याग बोकेका थिए। उनले सुरुमा बेच्न मन गरेनन्। पर्यटकले सय रुपैयाँ दिने भनेपछि दिन तयार भए। ‘नेपाली एक सय रुपैयाँ होला भन्ने सोचेको थिएँ तर डलर एक सय रहेछ,’ गणेशले भने, ‘त्यतिबेला एउटा ब्याग बेचेर परिवारका सबैलाई लुगा किन्न र बझाङसम्म जान खर्च पुग्यो।’
उनले त्यो दिन सोचेका थिए, ‘बझाङमा बनेका हेम्पका ब्याग यहाँ ल्याएर बेच्छु।’ कक्षा ८ सकिएपछि उनले पढाइ छाडे। त्यतिबेला सत्यवादीमा कक्षा १० सम्म पढाइहुन्थ्यो।

उनी २०४६ सालको अन्तिमतिर सात–आठओटा हेम्पबाट बनाइएका झोला बोकेर काठमाडौं आए। हातमा झोला बोकेर दिनभर हनुमानढोकामा बस्थे। तर उनले सोचेजस्तो मूल्यमा बिक्री गर्न सकेनन्।  ‘२० देखि २५ डलरमा बेचें, त्यतिमा बेच्दा पनि राम्रो नाफा बस्थ्यो,’ उनले भने, ‘त्यसपछि व्यवसाय गर्ने रहर लाग्यो।’

उनले त्यसपछि बझाङमा बनेका ब्याग काठमाडौंमा ल्याएर बेच्न थाले। बझाङमा ब्याग हातले सिलाउँथे काठमाडौंमा ब्याग सिलाउन मेसिन प्रयोग हुने गरेको उनले थाहा पाए।

उनले बझाङबाट रेशाबाट तयार पारिएको कपडा ल्याउँदै बेच्न थाले। ‘काठमाडौंमा हेम्पको धागो, कपडा बेच्न थालें,’ उनले भने, ‘गाँजा बेच्न रोक थियो तर गाँजाबाट बनेको ब्याग बेच्न कसैले रोकेनन्।’

340542517_185422390967489_2431665989288396793_n1681286401.jpg

२०५४ सालमा हेम्पको धागो बिक्री गर्ने योजना बनाए। विभिन्न प्राकृतिक रेशाबाट बनेका धागो बेच्न थाले। धागोबारे जानकारी नभएका कारण राम्रो मार्केट लिन नसकेर बन्द गर्नुपरेको उनले बताए। २०६० सालमा हेम्पका सामान काठमाडौंमा उत्पादन र बिक्री गर्न थाले। तर उनलाई भाषाका कारण बाह्य पर्यटकलाई सामान बेच्न समस्या भोग्नुप¥यो। युट्युबबाट अंग्रेजी भाषा सिके। सात वर्ष उद्योग दर्ता नभई सामान बिक्री गरे। ‘हेम्पका सामान बिक्री गर्न नपाउने भएकाले दर्ता रोकियो,’ उनले भने, ‘२०६७ सालमा मात्र उद्योग दर्ता भयो।’ उनी आठ वर्षदेखि २ रोपनी क्षेत्रफलमा टहरा बनाएर कारखाना सञ्चालन गरिरहेका छन्।

हेम्पको व्यापार बढ्दो

नेपालको हेम्पबाट बनेका सामग्रीको व्यापार राम्रो भएको तथ्यांकले देखाउँछ। हेम्पबाट आर्थिक वर्ष २०७५–७६ मा नेपालबाट २ करोडको सामग्ी निर्यात भएको थियो। आर्थिक वर्ष २०७६–७७ मा बढेर ३० करोड पुगेको थियो। आर्थिक वर्ष २०७७–७८ मा ८० करोड, आर्थिक वर्ष २०७८–७९ मा दुई अर्ब ८२ करोड रुपैयाँको हेम्पका कपडा, ब्याग निर्यात भएको छ। प्रत्येक वर्ष हेम्पको व्यपार बढिरहेको उनी बताउँछन्। ‘अहिले देशभर हेम्पको १२७ वटा उद्योग दर्ता भएका छन्,’ उनले भने, ‘वार्षिक रूपमा २० लाख किलो हेम्पको रेशाको व्यापार हुन्छ।’

उनका अनुसार हेम्पको उद्योगबाट ४३ लाखले रोजगारी पाएका छन्। उनले विभिन्न संघसंस्थाबाट तथ्यांक संकलन गरेका छन्। जसअनुसार नेपालका ४९ जिल्लामा हेम्प पाइन्छ। हेम्प पाइने जिल्लामा प्राय हेम्पका व्यवसाय सञ्चालन छन्। ‘काठमाडौंमा हेम्प उत्पादन हुँदैन तर पनि यहाँ ४० वटा उद्योग छन्,’ सञ्चालक गणेशले भने, ‘रामेछापमा हेम्प उत्पादन हुन्छ तर उद्योग छैन।’

340468423_5944834962291286_5612944196110657767_n1681286401.jpg
हेम्पको खेती गर्दा प्रतिएकडमा २७७ किलो फाइबर, ५३० किलो डन्डी, सय किलो दाना, १३० किलो फूल र रेशा २८७ किलो रेसा वर्षमा दुईपटक उत्पादन गर्न सकिने उनको बुझाइ छ। यी सामानको मार्केटको होलसेल शुल्कमा बिक्री गरे पनि ३ लाख ४८ हजार रुपैयाँ कमाउन सकिन्छ।

‘यसलाई माघमा रोपेर जेठमा काट्न सकिन्छ भने पुनः जेठमा छरेर असोज कात्तिकतिर निकाल्न सकिन्छ,’ सञ्चालक ऐडीले भने। नेपालमा हेम्पबाट मात्र नभएर १११ प्रकारमा फरकफरक जातिका बिरुवाबाट प्राकृतिक रेशा निकाल्न सकिने उनी बताउँछन्।

 

प्रकाशित मिति: १३:३८ बजे, बुधबार, चैत २९, २०७९
प्रतिक्रिया दिनुहोस्