‘शिक्षकको क्षमता विकास र सामुदायिक विद्यालयको स्तराेन्नतिमा महानगर प्रतिबद्ध’
उनले शिक्षक तालिम तथा विद्यालय सुधारका लागि आर्थिकलगायत अन्य आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए।
काठमाडौं, चैत २८ : काठमाडौं महानगरपालिका वडा नं १६ का मुकुन्द रिजालले शिक्षकको क्षमता विकास र सामुदायिक विद्यालयको स्तराेन्नतिमा महानगर प्रतिबद्ध रहेकाे बताएका छन्।
वडा १६ स्थित शितला माध्यमिक विद्यालयले परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रममा उनले भने, 'शिक्षकको क्षमता विकास गर्दै सामुदायिक विद्यालयको स्तराेन्नतिमा महानगर योजनाबद्ध रुपमा अघि बढेको छ।' उनले शिक्षक तालिम तथा विद्यालय सुधारका लागि आर्थिकलगायत अन्य आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए।

साे अवसरमा विद्यालयका प्रधानाध्यापक लक्ष्मण श्रेष्ठले विद्यालयको शैक्षिक विवरण प्रस्तुत गर्दै आगामी वर्षको विद्यालयको नारा नै 'शैक्षिक गुणस्तर सुधार' तय गरेकाे जानकारी दिए। विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रामराजा उपाध्यायले विद्यार्थीहरुलाई हौसला प्रदान गर्दै निरन्तरको मिहिनेतले मात्र सफलतको सिँढी चढ्न सम्भव हुने बताए। सहायक प्रधानाध्यापक अधिकारीले विद्यालयले आगामी दिनमा विद्यार्थीको सिकाइलाई प्राथमिकतामा राखेर काम गर्ने कुरा उल्लेख गरे।
पूर्वप्राथमिक तह पुरा गरेका १४ जना विद्यार्थीलाई दीक्षित गरिएको उक्त कार्यक्रममा पूर्वप्राथमिक तहकी इन्चार्ज विजया मिश्रले साना नानीबाबुलाई उत्प्रेरित गर्न शिशु दीक्षित कार्यक्रम राखिएको बताइन्। नर्सरीदेखि कक्षा ९ सम्मका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने ३३ विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो। सरसफाइ तथा अतिरिक्त क्रियाकलापतर्फ पनि विभिन्न विद्यार्थी पुरस्कृत भएका थए भने विद्यालयबाट सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी मनीष ठाकुरलाई ट्रफी वितरण गरिएको थियो ।

व्यवस्थापन समिति अध्यक्ष श्रेष्ठले विद्यालयको प्रगतिमा अहोरात्र खटिने शिक्षक तथा कर्मचारी धन्यवाद दिँदै विद्यार्थीहरुले सिकाइमा अपेक्षाकृत उपलब्धि हासिल गर्न अनुशासित हुनुपर्नेमा जोड दिए। उनले विद्यार्थी, विद्यालय र अभिभावकको त्रिपक्षीय समन्वयबाट मात्र विद्यालय सहज तरिकाले सञ्चालन गर्न सकिने र यसका लागि अभिभावक हरक्षण आफ्ना बालबालिकाप्रति सचेत बन्नुपर्ने कुरामा जोड दिए।
कार्यक्रम विद्यालयका शिक्षक विमला भट्ट र लेखनाथ निरौलाले सञ्चालन गरेका थिए भने कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक तथा सूचना अधिकारी ईश्वरी अधिकारीले गरेका थिए।कार्यक्रममा व्यवस्थापन समितिका सदस्य, पूर्वअध्यक्ष, अभिभावक, शिक्षक, विद्यार्थीलगायतको उल्लेख्य उपस्थिति थियो।


















