Kathmandu Press

नयाँ वर्ष मनाउन स्वदेश फर्किरहेका तीन नेपाली भारतमा लुटिए

नयाँ वर्ष मनाउन स्वदेश फर्किरहेका तीन नेपाली भारतमा लुटिए

बेदकोट, चैत २८ : भारतमा मजदुरी गरेर स्वदेश फर्किरहेका तीन नेपाली नागरिक लुटिएका छन् । उत्तराखण्डको हल्द्धानीमा लुटेराले जुसमा नशालु पदार्थ खुवाएर उनीहरूलाई लुटेका थिए ।

भारतमा लुटपाटमा परेर गड्डाचौकी नाकामा बेखर्ची पुगेका सुर्खेत र जाजरकोटका ती नागरिकको इलाका प्रहरी कार्यालय गड्डाचौकीले उद्धार गरेको छ । 'भारतमा लुटिएर बेहोस अवस्थामा नाकामा पुगेका तीन नेपालीको उद्धार गरेर उपचारका लागि महाकाली अस्पताल पुर्‍याएका थियौं,' ईलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक देवसिंह बुडालले भने, 'चार जनामध्ये एक निदाएका थिए, जुसमा नशालु पदार्थ सेवन गराएर भारतीय महिलाले सँगै रहेका अन्य तीन जनालाई लुटपाट गरेका छन् ।'

Hardik ivf

सुर्खेतको भेरीगङ्गा नगरपालिका–४ बाउनीचोरका ६० वर्षीय मिलन राजी, जाजरकोटको भेरी नगरपालिका–४ का ५७ वर्षीय लालबहादुर नेपाली र सोही ठाउँका ५५ वर्षीय केशर वली परेका छन् । उनीहरुका साथमा रहेको रु ४५ हजार भारु रुपैयाँ र तीन मोबाइल लुटिएको हो । 

उनीसँगै बसमा स्वदेश फर्किरहेका सुर्खेतको भेरीगङ्गा नगरपालिका–४ बाउनीचोरका ५२ वर्षीय ताराबहादुर मगर निदाएकाले लुटपाटबाट जोगिएका छन। 'महिलाले दिएको जुस सेवन गरेपछि आफूहरू बेहोस भएको र त्यसपछि केही थाहा नभएको लुटिएकाले भनेका छन्, बसमा सँगै रहेका मगरले त्यहाँबाट नाकासम्म ल्याएका थिए,' प्रहरी नायब निरीक्षक बुडालले भने, 'अस्पतालमा उपचारपछि अहिले उहाँहरू होसमा आउनुभएको छ ।'

भारतको उत्तराखण्डस्थित गढवालमा उहाँहरू मजदुरी काम गर्थे। नयाँ वर्ष मनाउन खर्च जोहो गरेर स्वदेश फर्किँदा लुटपाटमा परेपछि बेखर्ची बनेका छन् । महाकाली प्रादेशिक अस्पतालमा उपचारपछि वडा प्रहरी कार्यालय महेन्द्रनगरले बससँग समन्वय गरेर गन्तव्यसम्म पठाएको छ। 

प्रकाशित मिति: १९:४६ बजे, मंगलबार, चैत २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्